आदर्श बहुमुखी क्याम्पसको २०औँ क्याम्पस सभा सम्पन्न, गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड
55 पटक पढिएको
गजुरी (धादिङ), मंसिर ८ – धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसको २०औँ क्याम्पस सभा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षता तथा प्राध्यापक डा. रामप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।
सभाले क्याम्पसको समग्र शैक्षिक, प्रशासनिक र आर्थिक अवस्थाको समीक्षा गर्दै संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र भावी कार्यदिशा तय गरेको छ। कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति, आर्थिक गतिविधि तथा आगामी योजना र कार्यक्रमहरूबारे विस्तृत छलफल हुनुका साथै सामुदायिक उच्च शिक्षाको प्रवर्द्धनमा क्याम्पसको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।
आगामी योजनाअन्तर्गत विद्यार्थी संख्या वृद्धि गर्ने, गुणस्तरीय तथा प्रविधिमैत्री पठनपाठन विस्तार गर्ने, नयाँ शैक्षिक कार्यक्रम थप्ने, भौतिक पूर्वाधार निर्माण गर्ने, पुस्तकालय तथा प्रयोगशालाको स्तरोन्नति गर्ने र दीर्घकालीन आर्थिक स्रोत व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको सभाले जनाएको छ।
सञ्चालक समितिका पदाधिकारी, क्याम्पस सभा सदस्य, प्राध्यापक, कर्मचारी, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको सहभागिता रहेको उक्त सभाले स्थानीयस्तरमै सर्वसुलभ, व्यावहारिक र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सबै सरोकारवाला पक्षको सहकार्य र योगदान अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
क्याम्पस परिवारले संस्थाको शैक्षिक उन्नयन, संस्थागत सुदृढीकरण र उज्ज्वल भविष्यका लागि निरन्तर सहयोग र सद्भाव पुर्याउँदै आएका सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ।







