चितवनबाट ५० वर्षपछि धादिङ ल्याइयो २०३३ सालदेखिको २०७ कित्ता जग्गाको अभिलेख
35 पटक पढिएको
धादिङ, मंसिर ९ । प्रशासनिक सिमाना हेरफेरका कारण चितवनको खैरहनीमा रहेका धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ अन्तर्गतका २०७ कित्ता जग्गाको नक्सा तथा जग्गाधनी दर्ता स्रेस्ता (मोठ) करिब ५० वर्षपछि धादिङ ल्याइएको छ । भूमि प्रशासन कार्यालय खैरहनी र नापी कार्यालय खैरहनीले साविक लोथर गाविसअन्तर्गतका जग्गाको अभिलेख औपचारिक रूपमा भूमि प्रशासन कार्यालय र नापी कार्यालय धादिङलाई हस्तान्तरण गरेका हुन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको निर्णय तथा निर्देशनअनुसार प्रशासनिक सिमाना फरक परेका कारण अन्य जिल्लामा रहेका जग्गाका अभिलेख सम्बन्धित जिल्लामै सार्ने प्रक्रियाअन्तर्गत यी अभिलेख हस्तान्तरण गरिएको हो । झण्डै पाँच दशकदेखि जग्गासम्बन्धी कामका लागि चितवन धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
हस्तान्तरण गरिएका जग्गा साविक लोथर गाविसका सिट नम्बर ४ (क), ४ (ग), ४ (घ) र ५ (ख) अन्तर्गतका हुन् । जसअनुसार सिट नम्बर ४ (क) मा ७६ कित्ता, ४ (ग) मा २९ कित्ता, ४ (घ) मा ५५ कित्ता र ५ (ख) मा ४७ कित्ता गरी चारवटै सिटमा कुल २०७ कित्ता जग्गाका मोठ तथा नक्सा धादिङ ल्याइएको हो ।
भूमि प्रशासन कार्यालय खैरहनीका प्रमुख भूमि प्रशासन अधिकृत वाचस्पति सुनुवार र खरिदार यजेन्द्रप्रसाद पौडेलले भूमि प्रशासन कार्यालय धादिङका नायब सुब्बा गोपालसिंह महता र खरिदार प्रतीक लामिछाने मगरलाई जग्गाधनी दर्ता स्रेस्ता तथा मोठ दुरुस्त अवस्थामा बुझाउनुभएको हो ।
त्यसैगरी, नापी कार्यालय खैरहनीका प्रमुख माधवराज ढकाल, सर्वेक्षक शिरोमणि घिमिरे र जनक पौडेलले नापी कार्यालय धादिङकी सर्वेक्षक विन्द्रा लक्ष्मी मानन्धरलाई साविक लोथर गाविसका चारवटै सिटका चार थान सक्कल नक्सा, चार थान ट्रेस नक्सा र चार थान प्लटरजिस्टर हस्तान्तरण गर्नुभएको छ । उक्त क्षेत्रको फिल्डबुक भने ‘जेन्जी आन्दोलन’का क्रममा जलेर नष्ट भएका कारण हस्तान्तरण गर्न नसकिएको नापी कार्यालय खैरहनीका प्रमुख ढकालले जानकारी दिनुभयो ।
जग्गाको नक्सा र मोठ धादिङमै आएपछि अब जग्गाको कर तिर्न, नामसारी गर्न तथा नापी र मालपोतसम्बन्धी अन्य कामका लागि चितवन धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । लामो समयदेखि यही समस्याका कारण सास्ती भोग्दै आएका स्थानीय कृष्ण प्रजाले अभिलेख धादिङ सारिएपछि ठूलो राहत महसुस भएको बताउनुभयो ।
“कर तिर्न पनि चितवन आउनुपर्थ्यो । नामसारीलगायत नापी र मालपोतका सबै काम गर्न चितवन नै झर्नुपर्ने बाध्यता थियो । एकपटक आउँदा पाँचदेखि सात हजार रुपैयाँसम्म खर्च हुन्थ्यो र काम नसकिए बास नै बस्नुपर्थ्यो,” प्रजाले भन्नुभयो, “२०३३ सालदेखिको समस्या अहिले आएर समाधान भएको छ, हामी निकै खुसी छौँ ।”
बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष हेमराज भुजेलले नागरिकता, सरकारी सेवा तथा अन्य प्रशासनिक काम धादिङबाटै हुँदै आए पनि जग्गाको कर तिर्न र नामसारी गर्न चितवन जानुपर्ने बाध्यता रहेकोमा लामो प्रयासपछि ५० वर्षपछिको समस्या समाधान भएको बताउनुभयो ।
“जग्गाको नक्सा र मोठ धादिङ ल्याउन हामीले लामो समयदेखि निरन्तर प्रयास गरिरहेका थियौँ, अहिले त्यो प्रयास सफल भएको छ,” वडाध्यक्ष भुजेलले भन्नुभयो, “अब करिब ४० घरपरिवारले वर्षौंदेखि भोग्दै आएको सास्ती हट्नेछ ।” अभिलेख हस्तान्तरणसँगै बेनीघाट रोराङ–२ का सम्बन्धित जग्गाधनीले अब जग्गासम्बन्धी सम्पूर्ण सेवा आफ्नै जिल्लाबाट सहज रूपमा लिन पाउने बाटो खुलेको छ ।







