किराञ्चोकमा व्यावसायिक लिचीखेती

581 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, – फलफूलका उपभोक्ता बढेसँगै यसको खेतीमा कृषकको आर्कषण पनि बढेको छ । आम्दानी हात पार्न ३ देखि ५ वर्ष पर्खिनुपर्ने भए पनि धेरै वर्षसम्म आम्दानी लिन सकिने भएकाले कृषकहरु व्यावसायिक फलफूलखेतीमा आकर्षित भएका हुन् । 
imagesहावापानी सुहाउँदो तथा बजारको सहज पहुँचका कारण जिल्लाको किराञ्चोक गाउँ विकास समितिलाई फलफूल मिसन कार्यक्रमअन्तर्गत व्यावसायिक लिचीखेतीको पकेट क्षेत्र बनाइने भएको छ । दक्षिणी भेगमा पर्ने किराञ्चोक गाविस धान उत्पादनमा राम्रो मानिन्छ । तर, माथिल्लो माग सुख्खा भएका कारण मकै र कोदोमात्र फल्ने भएपछि जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी किराञ्चोक कृषि सहकारी संस्थाले फलफूल मिसन कार्यक्रमलाई व्यावसायिक लिचीका रूपमा किराञ्चोकमा सञ्चालन गर्न लागेको संस्थाका सचिव प्रमोदराज अधिकारीले बताए ।
व्यावसायिक फलफूल मिसन कार्यक्रमलाई व्यावसायिक रूपमा लिचीखेती गर्ने कृषकलाई अभिमुखीकरण गोष्ठी, खाल्टो तयार, मलखाद व्यवस्थापन र बिरुवा सार्ने तरिकालगायत विषयमा प्राविधिक तालिम सञ्चालन भइरहेको कृषि सेवा केन्द्र प्रमुख बागवानी विकास अधिकृत वेदप्रसाद रेग्मीले जानकारी दिए ।
किराञ्चोक गाविसको ५० हेक्टर क्षेत्रफलमा र जोगिमारा, मैदी, ज्यामरुङ गाविसमा पनि लिचीका  बिरुवा लगाइने बागवानी विकास अधिकृत केशव घिमिरेले बताए । मिसन कार्यक्रमबाट लिचीका बिरुवा, स्प्रेयर, सिक्केचर, करौती र वर्षे पानी संकलन गर्न प्लास्टिक पोखरीमा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने र मिसन कार्यक्रम सफल बनाउन आकासे पानी संकलन, थोपा सिँचाइ, कोसेबाली र हलेदोखेती गरी वैकल्पिक आयआर्जन गरी कृषकलाई आर्थिक रूपमा समृृद्ध वनाउने लक्ष्य रहेको घिमिरेले बताए । जिल्लाका मैदी, गजुरी, नौबिसे, केवलपुर, जीवनपुर, नीलकण्ठलगायत गाविसमा लगाइएको २ सय ७० हेक्टर क्षेत्रफलमध्ये २ सय ५० हेक्टरबाट १ हजार ८ सय ९० टन लिची उत्पादन भएको थियो ।
 कारोवार दैनिकवाट