बढ्दैछ अर्गानिक अभियान-सेलिब्रेटीदेखि सर्वसाधारणसम्‍म संलग्‍न

760 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नेपालमा पछिल्लो समयमा अर्ग्यानिक (प्राँगारिक)’ अभियान बढेको छ। खाद्यान्नदेखि तरकारी, दूधदेखि मह र मसलादेखि फलफुलसम्ममा अत्यधिक बिषादीको प्रयोग हुन थालेपछि यो अभियानले गति लिएको हो। बिषादीका कारण मानव स्वास्थ्यका साथै वातावरण र जैवीक विविधता नै खतरामा पर्न थालेपछि अर्गानिक अभियानको महत्वसमेत बढ्दै गएको छ।

अभियानको सफलता, बिषादी र रसायनिक मल प्रयोग नभएको खाद्यान्नदेखि हरियो तरकारी, दूधदेखि मह, मसलादेखि फलफुलसम्म उत्पादन हुन थालेका छन्। अहिले यो क्षेत्र फराकिलो हुँदै गएको छ। सरकारीदेखि गैरसरकारी र ठूला आयोजनाले समेत अर्गानिक खेती प्रणालीलाई महत्व दिन थालेका छन्। अर्गानिक उत्पादनका लागि राज्य र नीजि क्षेत्रले थोरै परिमाण भएपनि सुविधा उपलब्ध गराउन थालेपछि किसान पनि यो प्रणालीतर्फ उन्मुख भएका छन्। जसका कारण अहिले सर्वसाधारणदेखि सेलिब्रेटीसम्म अभियानमा जुटेका छन्।

अहिले यो क्षेत्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठदेखि बिनिता बराल, काभ्रेका गोविन्द शर्माको हसेरा (हरियो अर्थात तरकारी, सेतो अर्थात दुग्धजन्य र रातो अर्थात माछामासु) अर्गानिक फार्म, साँगास्थित प्रेम लामाको आशापुर अर्गानिक फार्मको नाम चर्चामा छ। त्यसो त अर्घाखाँची, पोखरा, थानकोट, गुल्मी, मुस्ताङ, पाटन, भक्तपुर, ललितपुर, सुनसरीलगायतका स्थानका केही अभियानकर्ताहरू यो क्षेत्रलाई व्यापकता दिन कम्मर कसेर लागेका छन्।

नेपाली उपभोक्तासँगसँगै विदेशी पाहुना तथा विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले आफ्नो स्वास्थ्यको ख्याल गरेर बढी मूल्य तिर्न तयार भएपछि अहिले अर्गानिक उत्पादनको बजार पनि फराकिलो हुँदै गएको हो। राजधानीका ठूलठूला पाँचतारे होटेलको रोजाईमा पनि पहिलो प्राथमिकता यो उत्पादन परेपछि बजार झनै हवात्तै बढेको छ। यसको पछिल्लो उदाहरण हो, राजधानीको दरबारमार्गस्थित मायालु सेन्टरको ‘अर्गानिक एग्रो बजार’। यो बजार नेपालकै पहिलो अर्गानिक उत्पादनहरूको एकमात्र ठूलो बजार भएको सम्बन्धीत बिज्ञहरूको भनाई छ। यसवाहेक मुलुकभरका विभिन्न जिल्लाहरूमा उत्पादन हुने यस्ता अर्गानिक उत्पादनहरू अहिले राजधानीस्थित विभिन्न डिपार्टमेण्टल स्टोर र आउटलेट्सहरूबाट विक्रि बितरण भइरहेको छ। ‘अर्गानिक उत्पादनको बजार हवात्तै बढेको छ,’ कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुँइटेल भन्छन,’पछिल्लो समयमा उपभोक्ता निक्कै सचेत भएका छन्। अर्गानिक उत्पादनको भविष्य उज्ज्वल बन्दै गएको छ।’ अर्गानिक अभियानकै थाल्निले गर्दा कालिमाटीस्थित तरकारी बजारमा समेत सरकारले अहिले तरकारीको बिषादी परीक्षण गर्ने उपकरण जडान गर्न लागेको छ।

अर्गानिक अभियानले गति लिएपनि कुन जिल्लाको कति हेक्टरमा अर्गानिक खेती हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन। कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पहिलो पटक २०३८ सालमा सिराहाबाट सुरू भएको थियो। त्यसवेला राजदेव मोरवैताले माडर गाबिस २ मा अर्गानिक फार्मको सुरूआत गरेका थिए। त्यसपछि ०४३ सालमा ‘कृषि निरन्तरता’ संस्था विराटनगरहुँदै जुम्ला, मुस्ताङ, गुल्मी, पाल्पा, कास्की, काभ्रे, इलाम, झापा र ताप्लेजुङमा हाल व्यवसायिक रूपमा अर्गानिक खेती हुँदै आएको छ। अहिले यो अभियानमा करिब दुईसय संघसंस्था सक्रिय छन्। सरकारले जुम्ला जिल्लालाई अर्गानिक उत्पादन जिल्ला घोषणा गरिसकेको छ। जुम्लामा खाद्य, तरकारी, फलफुल र जडिवुटीसम्म अर्गानिक पद्धतीवाट उत्पादन हुन थालेको छ। यसका साथै काठमाडौंकै काभ्रेस्थली गाबिस पनि यतिखेर अर्गानिक गाबिसको रूपमा घोषणा भइसकेको बाली विकास निर्देशनालयका प्रमुख डिलाराज भण्डारीले बताए। नेपालको कूल खेतीयोग्य क्षेत्रफलमध्ये करिब २० प्रतिशत जग्गामा अर्गानिक खेती हुँदैआएको छ।

अर्गानिक अभियानकै कारण काठमाडौंलाई आगामी १२ बर्षमा अर्गानिक जिल्ला घोषणा गर्ने योजनालाई कार्यान्वयनमा ल्याइएको छ। जिल्ला कृषि विकास कार्यालय काठमाडौंका प्रमुख शरदचन्द्र श्रेष्ठकाअनुसार चालु आर्थिक बर्ष २०७०/७१ देखि यो योजनालाई कार्यान्वयनमा ल्याइएको हो। जसअनुसार अहिले धापासी, टोखा चण्डेश्वरी, टोखा सरस्वती, झोर र साँङला गाबिसलाई ‘अर्गानिक करिडर’ भित्र राखेर सोहीअनुसार आवश्यक सुविधा किसानलाई उपलब्ध गराइएको छ। काठमाडौंमा अहिले जिल्लास्तरीय अर्गानिक समूह बनाएर त्यसमा एकसय ३५ जना व्यवसायिक किसानलाई आवद्ध छन्। २१ हजार कूल खेतीयोग्य जग्गामध्ये अहिले आठसय ३८ हेक्टरमा अर्गानिक खेती भइरहेको प्रमुख श्रेष्ठले बताए। काठमाडौंमा हाल करिब ६५ वटा अर्गानिक फार्म सञ्चालनमा छ।

अर्गानिक अभियन्ता गोविन्द शर्माकाअनुसार अहिले अर्गानिक जडिबुटी, मह, गेडागुडी र हरियो तरकारी अमेरिका, युरोप, जापान, कोरियाजस्ता मुलुकमा निर्यात भइरहेको छ। काठमाडौंमा मात्रै गत चैतमा २१ लाख मूल्यबराबरको प्रमाणिकरण भएका अर्गानिक उत्पादनको बिक्रि भएको थियो। प्रमाणिकरण नभएको करिब ३० लाखभन्दा बढीको बिक्रि भएको शर्माले बताए।

अर्का अर्गानिक अभियन्ता रवीकृष्ण जोशीकाअनुसार २०२० पछि हरित क्रान्ति आएपछि सामान्य रूपमा अर्गानिक अभियानले विस्तारै पाइला चाल्न थालेको हो। उनकाअनुसार रसायनिक मल र बिषादीका कारण कूल खेतीयोग्य जग्गाको ६५ प्रतिशत जग्गामा अम्लियपना आइसकेको छ। जसका कारण उर्वरा शक्ति नाश भइसकेको छ। उनकाअनुसार आईएएएस, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), कृषि विकास मन्त्रालयको एकीकृत शत्रुजीव व्यवस्थापन(आईपीएम पाठशाला), इनसान, लोट्स ल्याण्ड, हसेराजस्ता संघसंस्थाको प्रभावकारी गतिविधिका कारण अहिले मुलुक विस्तारै अर्गानिकमय बन्दै गएको छ।

पछिल्लो समयमा अर्गानिक रूपमा मरिच, टिमुर, मह, चिया, धान, स्याउ, तरकारी, च्याउ, अदुवा, बेसार, खुर्सानी, मसला, कफि उत्पादन भएपनि सरकारले अहिलेसम्म यसमध्ये चिया, कफि र मसलाजन्य पदार्थलाई मात्र ‘प्रमाणिकरण’ गरेको छ। बाँकी उत्पादनको अझै बाँकी छ।

किन अर्गानिक अभियान

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको किट बिज्ञान महाशाखाका वरिष्ठ बैज्ञानिक अनिसुर रहमान अन्सारीकाअनुसार बिषादी र रसायनिक मलका कारण व्यापक रूपमा मानवस्वास्थ्यमा असर पु:याउन थालेपछि अर्गानिक अभियानको सुरूआत भएको हो।

बिषादी र रसायनिक मलका कारण विषाक्त माटोको सम्पर्कबाट, कृषि उपजको उपभोग गर्दा, पानी र हावाको सम्पर्कका कारण महिला तथा पुरू षलाई क्यान्सरजन्य रोग, मृगौला बिग्रने, पक्षघाट हुने, गर्भ तुहिने, विकलांग बालबालिका जन्मने, आन्द्राजन्य, श्वासप्रश्वास, कलेजो तथा फोक्सो र छालाजन्य रोग धेरै मात्रामा फैलिन थालेपछि यसमा न्युनिकरण ल्याउन अर्गानिक खेती प्रणालीमा जोड दिइएको हो।

बिषादी र रसायनिक मलका कारण वातावरणीय चक्रिय प्रणालीमा समेत पछिल्लो समयमा प्रभाव पार्न थालेपछि बिज्ञहरूले विक ल्पको रूपमा अर्गानिक उत्पादनमा जोड दिएका हुन्। बिषादी र मलसँग जोडिएका माटो, हावा र पानीसमेत बिषाक्त र प्रदुषित बनेको छ। प्रदुषित माटो, हावा र पानीका कारण अहिले मानवदेखि जलचर, थलचर र आकाशमा बिचरण गर्ने जीवजन्तु तथा चराचुरूङीसमेतको जीवन संकटमा परेको छ। अहिले संसारभर जे जति परिमाणमा घातक रोगहरू उत्पन्न भएका छन, त्यसको हानिकारक तत्व यही प्रदुुषित माटो, हावा र पानी मानिएको बिज्ञहरूले दावी गरेका छन्।

असहयोगी नीति

अर्गानिक अभियान बढ्दै गएपनि प्रमाणिकरण समस्याका कारण यस्ता उत्पादनलाई आन्तरिक र बाह्य बजारिकरणमा केही जटिल समस्या आइपरेको छ। कृषि विकास मन्त्रालयका अनुसार नेपालसँग अर्गानिक प्रमाणिकरण(सर्टिफिकेसन) गर्नेसम्बन्धी आफ्नो मापदण्ड नहुँदा समस्या परेको हो। मापदण्डको अभावमा नेपालले अहिले अन्तर्राष्ट्रिय प्रमाणिकरण सँस्थालाई महँगो शुल्क तिरेर केही खाद्य पदार्थको प्रमाणिकरण गरेको छ। ‘मापदण्ड तथा लोगो बनाउने क्रम जारी छ,’ मन्त्रालयका सहप्रवक्ता लुँइटेलले भने।

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अर्गानिक उत्पादन गर्ने किसानलाई विशेष सुविधामा साना सिंचाई, भकारो सुधार, बीउ, प्राँगारिक मल तथा भ्रमिक मल उपलब्ध गराउदैआएको छ। यसका साथै प्राँगारिक र भ्रमिक मल कारखाना स्थापना गर्नसमेत अनुदान उपलब्ध गराउदैआएको छ। यसका साथै प्राङारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्डसम्बन्धी निर्देशिकासमेत जारी गरिसकेको छ।

अन्नपूर्ण पोष्टवाट