हिमाली गाउँमा स्याउखेती परीक्षण

499 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  – धादिङको हिमाली बस्ती तिप्लिङ गाविसको लिङ्जोमा स्याउ खेतीको परीक्षण गरिएको छ ।

जिल्लामै स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले दुई बर्ष अघिदेखि लिङ्जोमा स्याउ खेती शुरु गरिएको हो । उच्च हिमाली क्षेत्र भएकाले अरु अन्न राम्रोसँग उत्पादन नहुने भएकाले स्याउ परीक्षणका लागि ४ हजार विरुवा रोपिएको कृषि कार्यालयले जनाएको छ ।

जिल्लाका विभिन्न गाउँका किसानले गरेको स्याउखेतीले उत्पादन दिन थालेपछि लिङ्जोमा परीक्षण गरिएको कृषि कार्यालयका वागवानी विकास अधिकृत केशव घिमिरेले बताउनुभयो । जिल्ला विकास समितिको गरिबी निवारण कार्यक्रम अन्तर्गत तिप्लिङमा गठित १६ वटा समूहले जिल्लामै पहिलोपटक व्यवसायिक स्याउखेती गर्न लागेका छन् । प्रत्येक समूहमा १० देखि १५ जना किसान आबद्ध छन् ।

कम्तीमा १ देखि ७ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा स्याउखेती गर्न सकिने कार्यालयले जनाएको छ । धादिङका उत्तरी भेगमा पर्ने तिप्लिङ, सेर्तुङ, लापा, रि लगायत गाविसमा व्यावसायिक स्याउखेतीको सम्भावना रहेको वागवानी विकास अधिकृत घिमिरेले जानकारी दिए । वसन्त र वर्षा ऋतुमा धेरै पानी पर्ने हिमाली क्षेत्रमा व्यावसायिक स्याउखेती गरे जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।