गाईभैंसी चराउने डाँडामा हराभरा कफी

700 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Coffee, Dhading 3धादिङ, असार ३० – नलाङ गाउँ विकास समितिको सिरानमा पर्ने सिङ्गै डाँडामा चारवर्ष अघिसम्म आफै पलाएका घाँस र रुखको बुट्यान मात्र देख्न पाइन्थ्यो ।

डाँडो मुन्तिर घर भएका किसान पहिले त्यहाँ गाईभैंसी चराउन र घाँसपातका लागि जान्थे । गाउँलेका अनुसार हिउँदमा त नसुहाउँदो सुक्खा देखिन्थ्यो । तर त्यो सार्वजनिक जग्गा भने थिएन । मौका आएपछि उपयोग गरौंला भनेर पर्यटन व्यबसायी भरत रेग्मीले त्यो जग्गा जोड्नुभएको थियो ।

चारवर्ष अघि त्यो मौका पनि आयो । देशबिदेश घुमेका रेग्मीले त्यो जग्गामा कफी खेती गर्न उचित ठान्नुभयो र सुरु पनि गर्नुभयो । झण्डै दुई दशक कुनै पनि उपयोगमा नआएको जग्गामा अहिले हराभरा कफीले ढाकेको देख्न पाइन्छ ।
नलाङ रेग्मीको पुर्ख्यौली थलो हो । अहिले स्थायी बसोबास चितवनमा छ भने कर्मथलो काठमाडौं । कुनै पनि काम गर्न सकिन्छ भन्ने लागेर उहाँले २०४६ सालमा ७२ रोपनी जग्गा खरिद गर्नुभएको थियो । अहिले जग्गा २ सय १० रोपनी पुगेको छ । केही ठाउँमा कफीको बिरुवा लगाउन बाँकी छ । अहिलेसम्ममा त्यहाँ २१ हजार बिरुवा लगाइसकियो ।

अब थप ३० हजार बिरुवा लगाउन लागिएको रेग्मी बताउनुहुन्छ । रोग तथा अरु कारणले बिरुवा मर्ने हुँदा रोपिएका क्षेत्रमा हरेक वर्ष १० प्रतिशतका दरले बिरुवा थप्नुपर्ने उहाँको अनुभव छ । खाली जग्गामा रोप्न र रोपिएका क्षेत्रमा थप्नका लागि दुईवटा नर्सरी तयारी अवस्थामा छन् ।

विदेश भ्रमणका क्रममा बिभिन्न मुलुकमा कफी फार्म देखेपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । सन् १९९३ मा मलेसियामा उहाँले पहिलोपटक ठुलो क्षेत्रमा लगाइएको कफी फार्म देख्नुभएको थियो । कफी खेतीमा प्रख्यात इथियोपिया पुग्दा इलामको चिया बगानजस्तै कफीको हरियाली देखेपछि नलाङमा पनि उत्पादन गर्न सकिन्छ भन्ने लागेर अध्ययन थालेको रेग्मी बताउनुहुन्छ । सात वर्षअघि थालिएको अध्ययनले त्यसको तीन वर्षमै व्यबसायिक रुप नै लियो । सुरुमा इथियोपियाबाटै बिउ ल्याइएको थियो भने त्यसपछि रोपिएका बिरुवाहरु भने पाल्पाबाट मगाइएका हुन् ।

सम्भावना राम्रो देखेपछि उहाँले कफीको क्षेत्र बिस्तार पनि गर्नुभएको छ । मकवानपुरको नामटारमा डेढसय रोपनीमा पूर्वाधार तयारीको काम भैरहेको रेग्मीले जानकारी दिनुभयो । त्यहाँको नर्सरीमा १० किलो कफीको बिउ राखिएको छ । एक किलो बिऊबाट कम्तीमा तीन हजार बिरुवा उत्पादन हुने उहाँको भनाई छ ।

कफी बजारका लागि नेपाली बजारको भर पर्नुनपर्ने रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अमेरिका, जर्मनी र नर्वेका व्यापारीले कफी माग गरेका छन् ।’ पर्यटन क्षेत्रमा काम गर्दा नर्वे, डेनमार्क र स्विडेनसँग निकटता रहेकाले उनीहरुको माग पनि धान्नै नसकिने खालको भएको रेग्मी बताउनुहुन्छ । कफी फार्ममा अरु उत्पादन लिन सकिने खालका बिरुवाहरु तेजपत्ता पन्ध्रसय बोट, नास्पाती हजार बोट, लप्सी सात सय बोट, हलुवावेद तीन सय बोट, अम्बा र अनार हजार बोट लगाईएको छ । कम्पोष्ट मल र जग्गामा उत्पादन भएको घाँसको उपयोग हुने भएकाले गाई, भैंसी र बाख्रा पनि पालिएका छन् ।

सिञ्चाई सुविधा नभएका कारण ‘वाटर हार्भेस्ट सिस्टम’बाट सिंचाईको व्यबस्थापन गरिएको छ । फार्ममा १० वटा ठुला खाडलमा बर्षाको पानी संकलन गरेर राखिएको छ । ती खाडलहरु १० लाख लिटर क्षमताका छन् । असारदेखि पुससम्म पानी दिनुपर्दैन । दक्षिणपट्टिको जग्गामा माघदेखि र उत्तरपट्टिको जग्गामा फागुनको अन्तिमदेखि पानी दिए पुग्ने उहाँको अनुभव छ ।

कृषि बिशेषज्ञका अनुसार सिधा घामले कफीको आयु मात्र घट्दैन । स्वाद पनि फरक खालको हुन्छ । त्यसकारण छायाँमा कफी राम्रो हुन्छ । कफी छिट्टै बढ्ने बिरुवा भएको हुनाले छायाँका लागि रोपिने सहायक बिरुवा पनि छिट्टै बढ्ने खालको हुनुपर्छ । बिचार पुर्‍याउनुपर्ने अर्को कुरा के हो भने कफीमा दिइएको मलजल सहायक बिरुवाले नलियोस भन्नका लागि धेरै जरा नफैलिने खालका विरुवा लगाउनुपर्छ । चिलाउनेको बिरुवा धेरै उपयुक्त मानिन्छ भने कटुस र शिरीष पनि राम्रो मानिन्छ । यस्तै एक रोपनी जग्गामा दुईसय कफीको बिरुवा लगाउनु उपयुक्त मानिन्छ । रेग्मीले आफ्नो फार्ममा एउटा बिरुवा र अर्को बिरुवा बिचको दूरी दुई मिटर राख्नुभएको छ ।

यो बर्ष फार्मकै पहिलो उत्पादन पाँचसय किलो चेरी भएको थियो । जसबाट सय किलो ग्रिनमिञ्च बनेको थियो । ति उत्पादनलाई बिक्री गरिएको छैन । अवलोकनका लागि आउने पर्यटक तथा बिद्यार्थीलाई चाख्न दिइने गरिएको फार्म सञ्चालक रेग्मी बताउनुहुन्छ ।

५० हजार बोट तन्दुरुस्त राख्न सकिएमा र हरेक बर्ष फल लिन सकिएमा ६० टन ग्रिनमिञ्च उत्पादनको लक्ष्य रहेको रेग्मीको भनाई छ । अबको पाँच बर्षपछि सय जनालाई नियमित रोजगार दिन सक्ने उहाँले बताउनुभयो । अहिलेसम्म उहाँले पाँच करोड लगानी गर्नुभएको छ ।

-उज्यालो अनलाईन वाट