भारतीय बिदेशमन्त्री स्वराज उच्च राजनीतिक भेटघाटमा

516 पटक पढिएको

सम्पादक: Dhading News

Sushma-Swaraj-indian-foreign-minister-BJPकाठमाण्डौं–नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उच्च राजनीतिक भेटघाटलाई तीब्रता दिनु भएको छ । विदेशमन्त्री स्वराजले राष्ट्रपति डा. रामबरण यादव, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायत बिभिन्न राजनीतिक दलका नेताहरुसँग सामूहिक र छुट्टाछुट्टै भेट गर्नु भएको हो । राष्ट्रपति भवन शीतल निवासमा दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच छलफल भएको राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री सुशील कोइराला र भारतीय विदेशमन्त्री स्वराजबीच पनि शनिवारनै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षीय हित र सम्बन्ध सुधारको बारेमा कुराकानी भएको बुझिएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग पनि बिदेशमन्त्री स्वराजले भेटवार्ता गर्नु भएको छ । अध्यक्ष नेम्बाङको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरुबीच संविधान निर्माण, शान्ति प्रक्रिया, दुई देशबीचको सम्बन्धलगायत बिषयमा छलफल भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकट भविष्यमा हुन लागेको नेपाल भ्रमणका क्रममा संसद्को बैठकलाई सम्बोधन गर्ने तयारीमा सचिवालय जुटिसकेको जानकारी विदेशमन्त्री स्वराजलाई गराएको भेटवार्तापछि अध्यक्ष नेम्बाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
यसैबीच एकीकृत माओवादीका शीर्ष नेताहरुले नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नेपालका राजनीतिक दलहरु लागेकाले भारत सरकारले त्यसमा सहयोग गर्न आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग आज संविधानसभा भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा राजनीतिक तहमा नै संवाद होस् र सम्बन्ध विकास होस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको भन्दै एकीकृत माओवादी अध्यक्ष दाहालले अन्य तहमा हुने संवादले दुवै मुलुकलाई हित नगरेकामा समेत भारतीय विदेशमन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
विभिन्न मधेसवादी दलका नेताहरूसँग पनि भारतीय विदेशमन्त्री स्वराजले आज छलफल गर्नु भएको छ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग उहाँले सामूहिक भेट गर्नु भएको हो । त्यसैगरी नेपाली काङ्ग्रेसका नेता अमरेशकुमार सिंह, तराई मधेस जागरण अभियानका जयप्रकाशप्रसाद गुप्ता, एकीकृत माओवादीका प्रभू साह, तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका शत्रुघनकुमार महतोसँग पनि भेटवार्ता गर्नु भएको छ ।