नेपाल भ्रमण उपलब्धिमूलक भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजको भनाई

602 पटक पढिएको

सम्पादक: Dhading News

Sushma-Swaraj-indian-foreign-minister-BJPकाठमाण्डौं–भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफ्नो नेपाल भ्रमण धेरै उपलब्धिपूर्ण रहेको बताउनुभएको छ । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आईतवार स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई प्रतिकृया दिदै आफ्नो नेपाल यात्रा भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ एवम् प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा दुई मुलुकबीच २६ विषयमा सहमति हुनुले पारस्परिक सहयोगको नयाँ मार्गचित्र तयार भएको पनि स्वाराजले बताउनु भयो । भ्रमणकाक्रममा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवम् उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसवादी दलका प्रमुखहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्न पाउनु पनि उपलब्धिपूर्ण भएको उहाँले बताउनु भयो । तेइस वर्षपछि आयोजना भएको आयोगको बैठकमा भाग लिने सिलसिलामा नेपाल आउनुभएका उहाँले पसुपतिनाथ मन्दिरमा पुजाअर्चना गर्नु भएको छ ।

यसैबीच भारतीय विदेशमन्त्रीले आईतवार एमालेका नेताहरुसँग भेट गर्नु भएको छ । एमाले कार्यबाहक अध्यक्ष एवं उपप्रधानमन्त्री बामदेव गौतम र अन्य नेताहरुबीच भएको भेटवार्तामा तोकिएकै समयभित्रै संविधान लेख्ने, शान्ति प्रक्रियालाई पूर्णता दिने, स्थानीय निकायको निर्वाचन यथाशीघ्र गर्नेबारे छलफल भएको एमालेनेताहरुले बताएका छन् । संविधान जारी गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने, दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र विद्युत् व्यापार सम्झौता पारस्परिक लाभका आधारमा गर्नुपर्नेमा विषयमा पनि विचारविमर्श भएको एमाले नेताहरुले बताएका छन । भेटवार्तामा एमालेका उपाध्यक्षद्वय विद्यादेवी भण्डारी र भिम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल र सचिव भीम आचार्य सहभागी हुनुहुन्थ्यो ।