नागढुंगा–नौबिसे सडकमा जाम घट्यो

548 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौ, –  ढलान तथा पिच गरिएपछि नागढुंगा–नौबिसे सडकमा गाडी बिग्रेर रोकिने क्रम घटेको छ ।

सडकको अवस्था सुध्रिएकाले गाडी बिग्रेर रोकिने र त्यसले गर्दा सडक अवरुद्ध हुने क्रम घटेको नागढुंगा ट्राफिकका इन्चार्ज उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

धादिङको झ्याप्ले खोलादेखि पीपलामोडसम्म बढी उकालो र बिग्रिएको सडकका कारण बढी भार क्षमताका गाडीहरु बिग्रने गरेका थिए । तेल ट्यांकर, ग्यास बोकेका गाडी, ट्रक जस्ता बढी भार क्षमताका गाडीहरु बिग्रिएर रोकिंदा नागढुंगासम्म नै गाडीको चाप हुने गरेकोमा अहिले भने गाडीको आवतजावतमा कुनै समस्या नरहेको बुढाथोकीले बताउनुभयो ।

सडक बिग्रेर गाडी घण्टौंसम्म जाममा पर्ने गरेकाले नागढुंगा–नौबिसे सडक सुधार अन्तर्गत १ हजार ७० मिटर सडकमा कतै दुईतर्फी ढलान गरिएको छ भने कतै कालोपत्रे गरिएको छ । सबै ठाउँमा दुईतर्फी ढलान गर्ने भनिएपनि बर्खा लागेकाले ढलान गर्न बाँकी ठाउँमा कालोपत्रे गरेर छोडिएको छ ।

झ्याप्लेखोला र कानाकोटमा एकतर्फी ढलान र एकतर्फी कालोपत्रे गरिएको छ भने सुंगुरेखोला दुईतर्फी कालोपत्रे गरिएको छ । अरु क्षेत्रमा भने दुईतर्फी ढलाननै गरिएको छ । बर्खा शुरु भएपछि धादिङको बैरेनी, गजुरी क्षेत्रमा पहिरो खस्दा गाडीको आवतजावत प्रभावित हुने भएपनि सडककै कारण भने समस्या नआएको नागढुंगाका ट्राफिक इन्चार्ज बुढाथोकीले बताउनुभयो उज्यालो अनलाईनले खबर लेखेको छ । ।