प्रहरी ज्यादती नरोके देशै ठप्प पार्ने ट्रक तथा ट्रिपर व्यवसायीको चेतावनी

1338 पटक पढिएको

सम्पादक: Dhading News

trifffer dhading 3_n1काठमाडौं-शान्तीपूर्ण आन्दोलन गरिरहेका वेला ट्रक तथा टि्रपर व्यवसायीहरुमाथि काठमाडौंको कोटेश्वरमा प्रहरीले दमन गरेको भन्दै बाग्मती टि्रपर व्यवसायी संघले तत्काल प्रहरी ज्यादती नरोकिए भोलीदेखि देशै ठप्प पार्ने चेतावनी दिएको छ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले आफूहरु शान्तीपूर्ण आन्दोलन गरिरहेको वेला प्रहरीले पञ्चायती शैलीमा व्यवसायी र मजदुरमाथि ज्यादती गरेको बताएको छ। संघका उपाध्यक्ष शेर बहादुर कुँवरले आफूहरु विगत एक हप्तादेखि शान्तीपूर्ण आन्दोलनमा उत्रिरहेको वेला आज एक्कासी प्रहरीले व्यवसायी र मजदुरहरुमाथि अमानवीय व्यवहार गरेको आक्रोश पोखेका छन्।

कुँवरले भने–सरकारले प्रहरी प्रयोग गरेर हामी व्यवसायी र मजदुरमाथि लाठी बर्साउने काम गरेको छ। यो लोकन्त्रान्तिक पद्धतीको विरोधमा छ। निर्माण क्षेत्रको काम नै ठप्प भएपछि हामी विभिन्न र्‍याली लगायतका शान्तीपूर्ण आन्दोलनमा थियौ तर सरकारले हाम्रा माँगहरु पूरा गर्नुको सट्टा हामी व्यवसायी र मजदुरहरुलाई चरम यातना दिने काम गरेको छ। यसमा हाम्रो घोर आपत्ति छ। हाम्रा टाउका फुटेका छन्। हामी सवारी साधनमाथि आक्रमण भएको छ।

कुँवरले शान्तीपूर्ण आन्दोलन गर्दा सरकारले अमानवीय ढंगले मजदुर तथा व्यवसायीहरुमाथि आक्रमण गरेको भन्दै तत्काल आफ्ना साथीहरुको रिहाई नभए देशै भरका मालवाहक ट्रक तथा टि्रपरहरु सडकमा उतारेर यातायात ठप्प पार्ने समेत चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्रक तथा टि्रपर वर्गीय संयोजन यादवलाल श्रेष्ठले निर्माण सामग्रीहरुको बन्देजका कारण देशमा विकास निर्माण कामहरु ठप्प भएको हुँदा आफूहरु पनि बेरोजगार भएको उल्लेख गर्दै शान्तीपूणै आन्दोलनका मर्म र भावना सरकारले नबुझेको आरोप लगाएका छन्।

श्रेष्ठले आफ्ना माँगहरु पूरा गराउन सरकारका सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गर्दै बाध्य भएर आन्दोलन गरेको जानकारी दिएका छन्। उनले भने–’हामी अति संयममित भएर आन्दोलन गर्दै गर्दा हामी व्यवसायी तथा मजदुरमाथि आक्रमण भएको छ, यो अत्यन्तै घोर आपत्तिजनक छ। हाम्रा साथीहरु अहिले कान्तिपुर अस्पतालमा आई.सी.यू मा हुनुहुन्छ। दर्जनौ साथीहरु सख्त घाईते हुनुहुन्छ। कयौ साथीहरु प्रहरी हिरासतमा हुनुहुन्छ, उहाँहरुको तत्काल रिहाई नभए हामी कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुनेछौ।’

त्यस्तै अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिंखडाले पनि शान्तीपूर्ण आन्दोलनमा सहभागी भएका मजदुर तथा व्यवसायीमाथि प्रहरी दमन भएकोमा घोर आपत्ति प्रकट गरेका छन्। सिंखडाले तत्काल प्रहरी ज्यादती नरोके आफूहरु सडकमा उत्रने र देशै ठप्प पार्ने चेतावनी दिएका छन्।

त्यस्तै कार्यक्रममा अखिल नेपाल मजदुर संघका हरि डल्लाकोटी, स्वरोजगार व्यवसायी टिका प्रसाद हुमागाईले पनि शान्तीपूर्ण आन्दोलनमा सहभागी भएका आम मजदुर तथा व्यवसायीमाथि भएको प्रहरी ज्यादती र आतंकको घारे विरोध गर्दै तत्काल हिरासतमा रहेका साथीहरुको रिहाईको माँग गरेका छन्।