“कवितामा नेपाल” का अभियन्ता सुदूरपश्चिममा

566 पटक पढिएको

सम्पादक: Dhading News

माधव अधिकारी
कैलाली

kabitama nepal (3)नेपाली कविताले अन्तराष्ट्रिय स्तरमा स्वीकृति पाउन नेपाली माटोकै गन्धबाट उठेको हुनुपर्छ भन्ने आग्रहका साथ “कवितामा नेपाल” नामक अभियान सञ्चालन गरिरहेका युवा कवि तथा समालोचक महेश पौड्यालले कैलालीको अत्तरियामा सुदुरपश्चिमका साहित्यकारहरूसँग अन्तक्रिया सम्पन्न गरेका छन । कवि कृष्ण बोहोरा यात्रीको संयोजकत्वमा प्रतिभा पुस्तकालय अत्तरियाले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ट साहित्यकार कृष्णदत्त पनेरु, निर्मल कुमार भण्डारी, पद्मराज जोशी, विनोद भट्टराई, टी.एन. जोशी, कृष्ण बोहरा यात्री लगाएतका ५० जना साहित्यकारहरूको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्दै कवि तथा समालोचक महेश पौड्यालले सुदुरपश्चिमलाई चिनाउने गरी मुलधारका कविता लेख्न कविहरूलाई आग्रह गरे । पौड्यालले कवितामा नेपाल खोज्ने अभियान देशै भरी जारी रहेको जानकारी पनि दिए । उनले भने, “कवितामा आज निकै प्रतिष्पद्र्धा छ, र अबको नेपाली कविताले विश्वका उत्कृष्ट कवितासँग समानान्तर उभिने सामथ्र्य राख्नुपर्छ । यसका लागि आफू पृ्रथक कथ्य, शैली र उपकरणसहित उभिनु जरुरी छ । त्यो पृथकता हामी आफ्नै मौलिक र नीजि परिवेशबाट टिप्न सक्छौं ।” अबको कविता भावनाको आवेगमात्रै रहनुहुँदैन भन्दै पौड्यालले भपे, “अब प्रत्येक कवि अनुसन्धाता हुनुपर्छ, र उसको कविता आफ्ना अनुसन्धानले प्रमाणित गरेका नवीन र मौलिक ज्ञानको जगमा उभिनुपर्छ ।”
यसै कार्यक्रममा पौड्यलाले निकट भविष्यमा नेपालको परिचय स्थापित गर्नसक्ने कविताको सँगालो अङ्ग्रेजीमा प्रकाशित गर्ने पनि घोषणा गरे । उनले कार्तिकमा देशभरिका तरुण लेखकहरूको राष्ट्रिय शिविर आयोजना गर्ने र देशैभरिका युवा सर्जकहरूको सञ्जाल निर्माण गर्ने पनि जानकारी दिए । पौड्यालले तिहारपछि कैलालीमा सुदूरपश्चिम काव्य महोत्सवको आयोजना गरिने जानकारी पनि कार्यक्रममा दिए ।
कार्यक्रममा बोल्ने अधिकांश साहित्यकारहरूले सुदुरपश्चिममा कलासाहित्यको सम्भावना धेरै रहे पनि यहाँका श्रष्टाहरूले नेपाली साहित्यका मूलधारमा उपस्थिति जनाउन नसक्नु दुखद रहेको बताए ।
यसअघि भाद्र १२ गते पौड्यालले सुदूरपश्चिमका कृण्ण बोहोरा यात्री, युगिन विवेक, खेम बतास, तीर्थ भट्टलगायतका युवा सर्जहरूसँग कवितालेखनका विविध आयामाका बारेमा विशेष शिविर सम्पन्न गरेका थिए ।