ककनीमा अन्तर्राष्ट्रियस्तरको ‘वाल क्लाइमिङ’ र पासाङ ल्हामु स्मृति बनाउने योजना
844 पटक पढिएको
नुवाकोट, – नेपाल पर्वतारोहण सङ्घले ककनी (नुवाकोट)स्थित आफ्नो नाममा रहेको जग्गामा अन्तर्राष्ट्रियस्तरको ‘वाल क्लाइमिङ’ र पासाङ ल्हामु शेर्पाको स्मृति स्तम्भ निर्माण गर्ने भएको छ ।
ककनी – ६ स्थित १४४ रोपनी जग्गा सदुपयोग गर्न सो योजना अघि सारिएको सङ्घका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय पर्वतारोही स्मृति उद्यान समितिका संयोजक जिम्बाजङ्गु शेर्पाले बताउनुभयो । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि ह्विल चेयरबाट चल्न सक्ने पदयात्रा मार्ग बनाउने योजना पनि छ ।
समितिले सो योजना अघि सारिरहँदा उक्त स्थानको करिब १४ रोपनी जग्गामा समिति र स्थानीय बासिन्दाबीच विवाद देखिएको छ । समितिले आफ्नो नामको जग्गा अतिक्रमण भएको आरोप लगाएको छ भने स्थानीयवासीले आफूहरूको नाममा व्यक्तिगत लालपुर्जा रहेको जिकिर गरेका छन् ।
सो जग्गामा एक वर्षअघिदेखि भोगचलन गर्दै आएका ७६ वर्षीय स्थानीयवासी माहिला तामाङले लालपूर्जा आफ्नो नाम भएकाले मकै र कोदोखेती गर्दैै आएको बताउनुभयो । स्थानीयवासी सूर्यमान तामाङले उक्त जग्गा आफ्नो नाममा भएको जिकिर गर्दै यदि समितिले उनीहरुको आफ्नो नाममा जग्गा भएको प्रमाणित भए आफूले जग्गा छाडिदिने बताउनुभयो ।
स्थानीयवासी शिवकुमार लामाले भने त्यहाँका स्थानीयवासीले जग्गा अतिक्रमण गरेको भन्दै त्यस्तालाई कानुनी कारबाही गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।
समितिका संयोजक शेर्पाले सन् १९९८ मा तत्कालीन कृषि विभागको मकै फार्मले चर्चेको जग्गा पर्यटन प्रवद्र्धनका लागि सङ्घलाई भोगचलन गर्न दिएको बताउनुभयो । सङ्घका महासचिव ठाकुरराज पाण्डेले आफूहरू स्थानीयवासीसँग विवाद नगरी कानुनी उपचारका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको बताउनुभयो ।