बहुमतका आधारमा पेल्न खोजेको आरोप

646 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २० असोज । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चालगायत तीन संयुक्त मोर्चाले सहमतिको प्रक्रियाभन्दा बाहिर गएर बहुमतीय आधारमा संविधान निर्माण गर्न खोजिए मान्य नहुने चेतावनी दिएको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विगतमा प्रमुख दलबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सहमतिका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नुपर्नेमा जोड दिइएको छ ।

सरकारमा रहेका दलको व्यवहार सहमतिभन्दा बहुमततिरै बढी केन्द्रित रहेको आरोप लगाउँदै मोर्चाले त्यसो गरिए संविधानसभामा र सडक सङ्घर्ष गर्नाको विकल्प नरहेको चेतावनी दिएको छ ।

मोर्चाले यही असोज २४ गतेदेखि असोज ३१ गतेसम्म विरोध प्रदर्शन र जनसभाको कार्यक्रम गर्नेसमेत घोषणा गरेको छ । अन्तरिम संविधान २०६३ को धारा १३८ (१) क मा राज्यको पुनःसंरचना समानुपातिक तथा समावेशी आधारमा गरिने भन्ने व्यवस्था भए पनि सरकारमा रहेका दल त्यो मान्यतामा रहन नसकेको आरोप मोर्चाले लगाएको छ ।

अङ्कगणितीय सोच

पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्तालाई एक्ल्याउने काम भएको र विगतको सहमति र सम्झौताबाट भाग्न खोजेका कारण समस्या पैदा भएको बताउनुभयो ।

संविधान निर्माणमा आफूहरूलाई कुनै पनि भूमिका दिन काँग्रेस र एमाले तयार नभएको उल्लेख गर्दै उहाँले ऐतिहासिक आवश्यकता र सम्झौतालाई बाहेक गर्न खोजिए त्यो मुलुकका लागि गम्भीर दुर्घटना हुने चेतावनी दिनुभयो ।

‘‘सहमति निर्माणमा प्रतिपक्षी दलको भन्दा पनि कम भूमिका सरकारमा रहेका दलको देखियो, त्यसले नै संविधान निर्माणमा वाधा खडा गरेको छ, उहाँहरूको सोचमा नै अङ्कगणितले काम गरेको छ’’ अध्यक्ष दाहालले भन्नुभयो ।

सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्नेमा जोड दिँदै पत्रकार सम्मेलन गर्नेमा एमाओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चा, साना दलको पहिचानमा आधारित सङ्घीय गठबन्धन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आबद्ध दल छन् ।