तीनदलबीच पाँचबुँदे सहमति

579 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राजनीतिक सहमति र समझदारीको वातावरण बनाउन प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)बीच पाँचबुँदे सहमति भएको छ । प्रमुख दलबीच सो सहमति भएपछि ३९ दिनदेखि अवरुद्ध रहेको व्यवस्थापिका संसदको बैठक बुधबारबाट सुचारु भएको छ ।

संविधानसभा भवनमा बुधबार अपराह्न ती दलका शीर्ष नेताहरूबीच भएको बैठक शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग पुर्याउने र राजनीतिक दलहरूबीच पारस्परिक समझदारीको विकासमा सघाउन राजनीतिक समिति गठन गर्ने सहमति भएको हो ।

राजनीतिक समितिमा नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का तर्फबाट तीन–तीनजना रहने, तराई–मधेस केन्द्रित राजनीतिक दलहरूका तर्फबाट सोही सङ्ख्यामा र अन्य दलबाट तीनजना रहने सहमति भएको छ ।

अन्य दलबाट उक्त समितिमा रहने तीनजना सदस्यमध्ये राप्रपा र नेकपा (माले) बाट एक–एक जना रहने र अन्य एक दलको तर्फबाट पछि सहमति भएबमोजिम हुने जनाइएको छ ।

समितिको संयोजक पालैपालो हुने र पहिलो दुई महिनाका लागि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल रहने र समितिका निर्णय सहमतिका आधारमा हुने बैठकमा सहभागी नेकपा (एमाले)का नेता माधवकुमार नेपालले बताउनुभयो ।