रुग्ण उद्योगहरुलाई सहकारीकरण गर्नुपर्ने

618 पटक पढिएको

सम्पादक: Dhading News

सिमरा । हेटौडा कपडा, वीरगञ्ज चिनी कारखानालगायत रुग्ण उद्योग व्यवसायहरुलाई सहकारीकरण गर्न जरुरी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का सञ्चालक कृष्ण पौडेलले बताउनुभएको छ । सरकारले सहकारी र निजी क्षेत्रलाई समावेश गरेर व्यवसायी, उपभोक्ता र कर्मचारी मजदुर अटाउने गरी कारखानाहरुको पुनर्संरचना गरेर सञ्चालनमा ल्याउने हो भने सफल हुने बताउनुभयो ।

हेटौडा नगरपालिकाको पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सो कुरा बताउनु भएको हो ।
‘सहकारी क्षेत्रले सिर्जना गरेको पूंजी, जनशक्ति र सम्भावनालाई राज्यले सम्वोधन गर्न सके मुलुकको उर्जा संकट हल गर्न सकिने, कृषि र पर्यटनको क्षेत्रमा नयाँ सम्भावना कोर्न सकिनेछ ।’ उहाँले भन्नुभयो— ‘बचत तथा ऋण सहकारी क्षेत्रका उपलव्धिलाई संस्थागत गर्न र जोखिम र विकृतिहरुलाई हल गर्न छुटै कानूनको आवश्यकता रहेको बताउदै पौडेलले त्यसका लागि राज्य जिम्मेवार हुनुपर्छ ।’

चौध वर्षअघि स्थापना भएको महिला मिलन सहकारीमा हाल पच्चीस सय सदस्यहरुवीच दश करोडको कारोवार भई रहेको छ । महिलाहरुले सञ्चालन गरेको मुलुकभरको उत्कृष्ट संस्थाको रुपमा यो सहकारी सम्मानित हुदै आएको छ ।