इलाममा पर्यटकको चहलपहल बढ्यो

631 पटक पढिएको

सम्पादक: Dhading News

इलाम, २६ असोज । मौसम खुलेसँगै जिल्लाका चर्चित पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्याम, सानो पाथीभरा, माईपोखरी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा भारतीय र पश्चिमा मुलुकका लगायत आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको छ ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको स्थानीय शेर्पा च्यालेट होटलका नर्वु शेर्पाले बताउनुभयो । “चाडबाडको समय अनि खुला मौसमसमेत भएकाले यस क्षेत्रका होटल दुई–touristचार दिनदेखि नै बुक भइसकेका छन्”–उहाँले भन्नुभयो ।

पश्चिमा र बङ्गाली पर्यटकका कारण सीमावर्ती क्षेत्रका एक दर्जन जति नेपाली होटललाई प्रत्यक्ष फाइदा पुगेको छ । सन्दकपुरबाट कञ्चनजङ्घा, सगरमाथा, कुम्भकर्ण लगायतका हिमशृङ्खलासँगै सूर्योदयको दृश्यावलोकन र नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ ।

यसैगरी पूर्वको हरियाली मानिएको कन्याममा पनि वनभोज खाने र घुम्न आउने पर्यटक धेरै छन् । यहाँ दैनिक ५०० भन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीय काजीमान कागते बताउँछन् । झापा, मोरङ, काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आएका छन् । यहाँबाट श्रीअन्तु, समालबुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ ।

पूर्वकै कान्छो सिमसार क्षेत्र माईपोखरी घुम्न आउनेको सङ्ख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माईपोखरीमा आजभोलि दैनिक ३०० भन्दा बढी पर्यटक आउने धार्मिक वन समूहका कमल मुखियाले बताउनुभयो । यहाँ विश्वमै लोपोन्मुख गलैँचे झ्याउ, अनौठा खालका चरा, ठकठके लगायतका पक्षी तथा वनस्पति पाइन्छन् ।

केही हप्ताअघि माईपोखरीमा पानीको सतह घटे पनि अहिले पानीको सतह बढ्न थालेपछि पर्यटक आगमनमा वृद्धि भएको जनाइएको छ । विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपान्डा, काँडेभ्याकुरजस्ता जनावर र पक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माईको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै धेरै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलोमिटरमा रहेको सन्दकपुरबीचका मेघ्मा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा पनि पर्यटक रोकिने भएकाले त्यहाँको चहलपहल पनि बढेको छ ।

नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माईपोखरी हुँदै माईमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ ।

“पर्यटक आउन थालेपछि बर्खाभरि बन्द रहेका होटल खुलेका छन्”–माईमझुवाका पेम्वाछिरिङ भोटियाले भन्नुभयोे । पर्यटक आगमनले यहाँको पर्यटन व्यवसायसमेत आजभोलि निक्कै फस्टाएको छ । पर्यटकीयस्थलमा अमेरिका, चीन, जापान, भारत लगायतका मुलुकबाट पर्यटक आएका छन् ।