तीन सय ६३ दिनदेखि अनशनरत गङ्गामायाको अवस्था नाजुक

492 पटक पढिएको

सम्पादक: Dhading News

download (3)काठमाडौँ, ३० असोज । तीन सय ६३ दिनदेखि अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उच्च रक्तचाप, नाडी र श्वास फेर्ने प्रणाली सामान्य अवस्थामा रहे पनि खाना नखाएका कारण अधिकारीको स्वास्थ्य खस्कँदै गएको वीर अस्पतालका निर्देशक डा स्वयम्प्रकाश पण्डितले बताउनुभयो । चार हप्तादेखि तिघ्रामा प्वाल पारी पोषणतत्व(टिपिएन) दिइरहेको भए पनि बुधबारदेखि त्यो पनि दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीर सुकेर नसासमेत नभेटिने अवस्था छ, त्यसैले स्लाइन र टिपिएन दिने ठाउँसमेत छैन ।’

निर्देशक पण्डितका अनुसार श्रीमती अधिकारी बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । विसं २०६१ मा १७ वर्षे छोरा कृष्णप्रसादको हत्या भएपछि गङ्गामाया र उहाँका श्रीमान् नन्दप्रसाद अनशनमा बस्नुभएको थियो । अनशनरत अवस्थामै गत असोज ६ गते नन्दप्रसादको मृत्यु भएको थियो ।