सडक संरक्षणको जिम्मा एनटिसी र लाइन्स क्लबलाई

697 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २४ कात्तिक । माइतीघरदेखि तीनकुनेसम्मको सडकखण्ड पाँच वर्षका लागि हेरचाह तथा संरक्षण गर्ने जिम्मा सामाजिक तथा व्यवसायिक संस्थालाई दिइएको छ ।

व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत काठमाडौँ उपत्याका विकास प्राधिकरणले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकखण्ड नेपाल टेलिकमलाई र नयाँ बानेश्वरदेखि तीनकुनेसम्मको खण्ड लाइन्स क्लबलाई जिम्मा दिएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त डा भाइकाजी तिवारीले तोकिएको क्षेत्रमा विरुवा रोप्ने, फूलबारी बगैंचा बनाउने र गोडमेल गर्ने अधिकारसहित दुईपक्षीय सम्झौता भएको बताउनुभयो ।

उहाँले टेलिकम र लाइन्स क्लबले संस्थाको नाम उल्लेख गरेपनि विज्ञापन भने गर्न नपाउने उल्लेख उल्लेख गर्नुभयो ।

नेपाल टेलिकमका प्रवक्ता मधुसुधन कर्माचार्यले प्राधिकरण र टेलिकमबीच भएको सम्झौताअनुसार आजैदेखि उक्त सडकखण्डमा फूल रोप्ने कार्य सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले पाँच वर्षसम्म उक्त सडकखण्डको संरचनाको सुरक्षाका लागि पहिलो चारणमा पाँच हजार फूल रोप्ने र रङ्रोगनलाई ध्यान दिने जानकारी दिँदै वातावरणीय दृष्टिकोणले उपयुक्त तबरले व्यवस्थापन गर्ने बताउनुभयो ।

लाइन्स क्लबको जिम्मामा रहेको सडकखण्डमा संरक्षण तथा फूलबारी तयार गर्ने कार्य सुरु गर्ने तयारी गरिरहेको बुझिएको छ ।

माइतीघरको संरक्षण तथा हेरचाहका प्राधिकरणले कृषि विकास बैंकलाई एक वर्षअगाडि नै जिम्मा दिएको थियो ।