अवैध होटलमा सार्कका पाहुना

619 पटक पढिएको

सम्पादक: Dhading News

platunam

काठमाडौं । यही मंसिर १० र ११ गते हुने अठारांै सार्क शिखर सम्मेलनमा आउने पाहुनालाई सरकारले एउटा अवैध र गैरकानुनी ढंगले निर्माण गरिएको होटलमा राख्ने तयारी गरिरहेको छ ।
सार्कका पाहुनाका लागि होटल सोल्टी आसपासका होटलहरू बुक गरिएका छन् । सार्क राष्ट्रका प्रमुखहरूलाई होटल सोल्टीमै राख्ने व्यवस्था मिलाइएको छ भने अन्य सहयोगी र सुरक्षाकर्मीहरूका लागि यही आसपासका ग्रान्ड र प्लाटिनम होटलमा चाँजोपाँजो मिलाइएको थाहा भएको छ । सोल्टी र ग्रान्डको बीचमा रहेको प्लाटिनम अवैध र गैरकानुनी तरिकाले निर्माण भएको होटल रहेको स्रोतले बतायो । स्रोतका अनुसार, यो होटलकै प्रयोजनका निम्ति निर्माण भएकै होइन । नेपाल चेम्बर अफ कमर्सको भवनको स्वरूप परिवर्तन गरेर बनाइएको यो होटलको नक्सा पाससमेत भएको छैन । नक्सा पास नभएकाले यो होटलले सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत बुझाएको छैन । सामान्य व्यक्तिले नक्सा पास नगरी घर बनायो भने घरै भत्काएर पीडा दिने सरकार आफैंले अवैध यो होटलमा सार्कका पाहुनाको बसोबासको व्यवस्था मिलाएर अवैध कार्यलाई प्रोत्साहन दिएको छ ।
त्यति मात्र होइन, यो होटलले नेपाल ट्रष्टको जग्गा भोगचलन गरेको छ । पूर्वराजा तथा राजपरिवारको नाममा रहेको जग्गा नेपाल ट्रष्टमा राखेर त्यसमार्फत गरिबहरूका लागि आवाससहितको अस्पताल निर्माण गर्ने निर्णय सरकारले गरेको छ । तर, यो होटलले पहुँचका आधारमा ट्रष्टको जग्गा भोगचलन गर्दा टेन्डर, बोलकबोल आदि कुनै प्रक्रिया अपनाइएको छैन । भित्रभित्रै सेटिङ मिलाएर ट्रष्टको जग्गा भोगचलन गरेको बताइन्छ ।
यो होटलको लगानीसमेत अपारदर्शी भएको बताइन्छ । काभ्रेतिरका प्रेम श्रेष्ठ सञ्चालक रहेको यस्तो अवैध, गैरकानुनी र राजस्वमारा होटलमा सार्कका पाहुना राख्ने तयारी गर्नु सरकार आफंैले सार्कका नाममा गैरकानुनी धन्दालाई प्रोत्साहन दिनु भएको बताइन्छ इ बुधवार डट कमले खबर छापेको छ ।  ।