सम्बन्ध विच्छेदको नौलो संस्कृति

884 पटक पढिएको

सम्पादक: Dhading News

tola-तोलाकुमारी पाठक

जिन्दगीसँगै जिउने कसम खाएका श्रीमान र श्रीमतीबीच सम्बन्ध विच्छेद भएपछि छुट्टिने वेलामा के गर्लान ? रिस्सिएर भनाभन गर्लान । कालोमुख लगाएर नबोली हिँड्लान । अथवा रुवावासी गर्लान । तपाईले सोचेको भन्दा धादिङको वसेरी, बुढाथुम, तिप्लिङ लगायतका उत्तरी क्षेत्रका तामाङ, घले र गुरुङ समुदायमा भने अनौठो चलन छ । उनिहरु सम्बन्ध विच्छेद गर्नुप¥यो भने अदालत जाँदैनन् । सँगै बस्न नसक्ने भएर छुट्टिएर बस्न थालेपछि गाउँलेहरुले के कस्तो भनेर चासो राख्न थाल्छन् । केटा वा केटीले अभिभावकलाई सँगै बस्न नसक्ने भएपछि सिन्को पाँग्रोको लागि आग्रह गर्छन । त्यसपछि गाउँले र आफन्तलाई खवर गरिन्छ । गाउँले र नातागोता बोलाउनेको घरमा जम्मा हुन्छन् ।
स्थानीय संस्कृति अनुसार सिन्को पाँग्रो भनिने यस चलनमा केटाले केटीको र केटीले केटाको कमजोरी बताउँछन् । सँगै बस्न नसक्ने कारण सुनाउँछन् । गाउँकै लेखपढ् गर्न जान्नेले उनिहरुको विवाह भएदेखि छुट्टिने समयसम्मको व्यहोरा मिलाएर लिखत बनाउँछन् । दुवैले सहीछाप गर्छन् । गाउँलेहरु साक्षी बस्छन् । सबैले तालि पडकाउँछन् यसै समयदेखि उनीहरुको नाता टुट्छ । अनि शुरु हुन्छ भोज । मस्तिले रक्सी र मासु खान्छन् । छुट्टिने केटा र केटी पनि भोजमा जमेर सामेल हुन्छन् ।
सम्बन्धविच्छेदको पहिलो प्रस्ताव जसले राखेको हो उसैले क्षतिपूर्ति स्वरुप दुईहजारदेखि दशहजारसम्म तिर्नुपर्छ । यो रकम ठाँउहेरी फरक फरक छ । बिहेमा महिलालाई गहना पैसा दिइएको छ भने त्यो पनि फिर्ता गर्नुपर्छ ।
यो उनिहरुको पुरानो संस्कार हो । यस समुदायमा भागी विवाह गर्ने चलन बढि छ । श्रीमान श्रीमतीको सम्बन्धमा तिक्तता आउन थालेपछि अरु समुदायजस्तो सहेर बस्दैनन् । सम्बन्ध विच्छेद भएका जोडीको अभिभावक विच पनि नराम्रो सम्बन्ध हुदैंन ।
विवाह पछि महिला र पुरुष सगै बस्न नसक्ने भएपछि छुट्टिएर बस्नु नराम्रो हैन । यसलाई सहज रुपमा स्वीकार्नु पनि पर्दछ । कतिपय जातीमा सम्बन्धविच्छेदलाई सामाजिक रुपमा बार्जित गरीएको हुन्छ । तर आजभोली सम्बन्ध विच्छेद गर्नेको संख्यामा अघिल्ला वर्षहरुको तुलनामा धेरै मात्रामा बढ्दै आईरहेको छ । केही महिलाहरु श्रीमानसँग मिलेर बस्न नसकी संम्बन्धविच्छेदको कुरा लिएर जिल्ला अदालतमा आउने गरेका छन् भने केही महिलाहरु घरको सामान्य झगडालाई विकराल रुपमा परिवर्तन गर्दै यो बाटो अगाल्न पुगेका छन् । सोच विचारका साथ सम्बन्ध विच्छेद गर्नु ले त हानी नगर्ला तर हतारमा गरीएको निर्णयले भने पछि असर पर्न गईरहेको छ । यसको असर निर्दोसी बच्चाहरुमा पर्न गएको छ बाबुआमाको न्यायो माया पाउने उमेरमा कि बाबु कि आमा देखि टाढा बस्नुपर्ने हुन्छ । यस्तो वातावरणले गर्दा बालबालिकामा मनोसामाजिक असर पर्न जान्छ । जसका कारण विकृत मानसीकताका बन्न पुग्छन् र आपाराधिक कार्यमा संलग्न हुन पुग्छन् । बाबुआमाको पनि सोंचे भन्दा फरक जीवन विताउन परिरहेको हुन्छ ।
हाम्रो कानुनमा श्रीमतीले सम्बन्धविच्छेद गर्न पाउने आधार तोकेको छ । लोग्नेले दोश्रो विवाह गरेमा, खानलाउन नदिई घरबाट निकालेमा, लगातार तीन वर्ष वा सो भन्दा बढी समयसम्म खोजखबर नगरी अलग बसेमा, ज्यान जाने अंगभंग हुने वा ठूलो शारिरीक वा मानसिक कष्ट हुने काम गरेमा, लोग्नेलाई निको नहुने गरी यौन रोग लागेमा, लोग्ने नपुशक भएमा, लोग्नेले पर स्त्रीसंग करणी गरेमा सम्बन्धविच्छेद गर्न सक्छिन् । श्रीमानले सम्बन्धविच्छेद गर्न पाउने प्रावधानमा लोग्नेलाई निजको मञ्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढि समयदेखि छोडी अलग बस्ने गरेमा वा लोग्नेको ज्यान जाने, अगंभंग हुने वा अरु कुनै ठूलो शारीरीक वा मानसिक कष्ट हुने खालको काम वा पञ्पन्च गरेमा वा स्वास्नीलाई निको नहुने रोग लागेमा वा स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेमा सम्बन्धविच्छेद गर्न पाउने भनि तोकिएको छ । यसको लागि पुरुषले गाविसहुदै अदालतसम्म पुग्नुपर्छ भने महिला भने सिधै अदालत जान सक्छिन् ।
संस्कृति त्यति नराम्रो हैन । गाउँमै छलफल हुनु राम्रो पनि हो । तर धादिङको उत्तरी भेगमा भने गाउँमै गरिने सम्बन्ध विच्छेदले समस्या ल्याएको छ । यसले गर्दा ती महिलाहरुको नागरीकता बनाउन समस्या परिरहेको छ । माईतबाट नागरीकता लिनको लागि विवाह भईसकेकोलाई गाविस सचिवले सिफारीस दिदैनन् । यसै जिल्लाको गुम्दि गाविकी २० वर्षीय तामाङ थरकी बहिनी दुई महिना मात्र अगाडी न्याय माग्दै प्रहरी कार्यालय आईपुगेकी थिईन । विवाह गरेको एक वर्ष पछि उनलाई गाउलेहरुको रोहवरमा केटा पक्षले सिन्को पागो गराए आफूले छोडन नचाहदा नचाहदै जवरजस्ति सिन्को पागो गराएको र घर निकाला गरेको भन्दै उनी न्यायको लागि संम्बन्धित निकायलाई गुहार्दै थिईन । उनी आफ्नो नागरीकता, अंश केही नपाएकोले जिल्ला प्रहरी कार्यालयको ढोकामा आई पुगेकी थिईन । आफूले छोडन नचाहदा नचाहदै अंश वापत रु दशहजार दिएर सिन्को पागो गराएका थिए । त्यसैगरी अर्की चौविस वर्षे तामाङ थरकी महिलाले २०६८ सालमा विवाह गरेकी थिन् । २ वर्षमै उनिहरु सँगै बस्न नसक्ने भएपछि हालसालै गाउमै सिन्को पागो भयो । यसपछि जिल्ला प्रशासन कार्यलयमा नागरीकता बनाउन खोज्दा नागरिकता बनेन् । विवाहित भएकाले श्रीमान खोजियो । सम्बन्ध विच्छेद भईसक्यो भन्दा सम्बन्धविच्छेदको प्रमाणपत्र खोजियो । प्रमाण पत्र हुने कुरै भएन । यस्तो प्रमाणले सम्पत्ति दावी गर्न पनि अप्ठेरो परेको छ। बच्चा भईसकेकाको जन्मदर्ता के कसरी गर्ने भन्नेमा पनि समस्या छ ।
यस्तो अप्ठेरो अवस्था आउन नदिन कित स्थानीय संस्कृती र कागजलाई सरकारले मान्यता दिनुपर्छ । कित यो चलनलाई राष्ट्रिय कानुनकै दायरामा ल्याउनुपर्छ । अन्यौलमा राखेर समस्या बढाउनु हुदैंन ।