वैदेशिक रोजगार व्यवसायी सङ्घको भूमिका कमजोर

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rojgaar sanghकाठमाडौँ, २० मङ्सिर ।-वैदेशिक रोजगार व्यवसायी सङ्घभित्र लामो समयदेखिको विवाद अन्त्य हुन नसक्दा सङ्घको भूमिका कमजोर बन्दै गएको छ ।

महाधिवेशनबाट निर्वाचित अध्यक्ष बलबहादुर तामाङलाई गत वर्ष फागुनमा अविश्वासको प्रस्तावमार्फत हटाई हंशराज वाग्लेले आफूलाई अध्यक्ष घोषणा गरेपछि चर्किएको विवाद अझै साम्य हुन सकेको छैन ।

वर्तमान अध्यक्ष वाग्ले र निवर्तमान अध्यक्ष तामाङ दुवैले आफूलाई आधिकारिक अध्यक्ष भनि घोषणा गरिरहेका छन् । एउटा पक्षले गर्ने भनिएको कार्यक्रम अर्को पक्षले अधिकारिक नभएको र त्यसमा सहभागी नहुन आग्रह गर्दै पत्रपत्रिकामा सूचना जारी गर्ने गरेका छन् ।

जसले आम वैदेशिक रोजगार व्यवसायीमा विवादको असर स्पष्ट परेको र उनीहरु सङ्घका गतिविधिमा सहभागी हुन छाडेको स्पष्ट हुन्छ ।

केही महिनाअघि एक पाकिस्तानी व्यापारीलाई मादक पदार्थ सेवन गरी हातपात गरेपछि सङ्घका अध्यक्ष वाग्ले र महासचिव कमल तामाङ पक्राउ पर्नुभएको थियो ।

सो क्रममा केही दिन हिरासतमा परेपछि आम वैदेशिक रोजगार व्यवसायकै बेइज्जति गरेको भन्दै वाग्लेसँग व्यवसायीहरु रुष्ट छन् ।

आधिकारिकतासम्बन्धी विवादमा परेको उजुरीमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र पुनरावेदन अदालत पाटनले गरेको निर्णय अनुरुप आफू नै आधिकारिक अध्यक्ष भएको वाग्लेको भनाइ छ ।

सोही निर्णय अनुरुप श्रम तथा रोजगार मन्त्रालयदेखि अन्य निकाय समेतले वाग्लेलाई अध्यक्ष मान्दै आएका छन् । तर तामाङले सो निर्णयविरुद्ध सर्वोच्चमा दर्ता गर्नुभएको मुद्दा सुनुवाइको क्रममै रहेको छ ।

निवर्तमान अध्यक्ष तामाङ आफु विरुद्ध ल्याइएकोे सो हस्ताक्षर नक्कली भएको र विधान विपरीत कार्य भएको जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “महाधिवेशनमा अध्यक्षमा चार÷चारजना उम्मेदवार हुँदा त जम्मा ५०० मत खसेको थियो, मविरुद्ध ६०० हस्ताक्षर कसरी सङ्कलन भयो ? नवीकरण नभएकाहरु, व्यवसाय नै बन्द गरेकाहरुको घरघरमा गएर हस्ताक्षर जुटाइयो ।”

सङ्घको विधानअनुसार अविश्वास प्रस्ताव ल्याइसकेपछि सल्लाहकार समितिले छानबिन समिति गठन गर्नुपर्नेमा तृतीय उपाध्यक्षको नेतृत्वमा समिति गठन गरी अवैधानिक काम गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष वाग्ले भने वैदेशिक व्यवसायविरुद्ध आपत्तिजनक कुरा बोलेकाले व्यवसायीहरु एकताबद्ध भएर तामाङलाई हटाएको बताउनुहुन्छ ।

आफूलाई अध्यक्षको दाबी गर्ने तामाङले नै आफ्नो सिफारिस लिएर वैदेशिक रोजगारीसम्बन्धी कार्य गरिरहेकाले विरोधमा कुनै तुक नरहेको वाग्लेको भनाइ छ ।

सङ्घको विवादकै कारण विभिन्न निकायमा सङ्घको प्रतिनिधिले राख्ने धारणाको महत्व कम हुन थालेको छ । सङ्घ कमजोर हुँदा व्यवसाय माथि चौतर्फी आक्रमण हुन थालेको व्यवसायीहरु नै बताउन थालेका छन् ।

दुई महिना कार्यकाल रहेका अध्यक्षलाई हटाएर आउनुभएका वाग्ले अब आफू दुई वर्षका लागि नै अध्यक्ष भएको बताउनु हुन्छ । सङ्घको विधानअनुसार अध्यक्षको कार्यकाल दुई वर्ष हुने रहेकाले आफ्नो पनि कार्यकाल दुई वर्ष नै हुने उहाँको जिकिर छ ।

आगामी पुस २५ गते सङ्घको साधारणसभा बोलाइएको र सो साधारणसभाले आगामी असोजका लागि अर्को महाधिवेशनको मिति तय गर्ने वाग्ले बताउनुहुन्छ ।

तर अध्यक्षबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य पुरानै महाधिवेशनबाट आएका र विधान त उनीहरुको दुई वर्षे कार्यकाल समाप्त भइसकेकाले पनि अहिलेको कार्य समिति अवैधानिक रहेको तामाङ पक्षको भनाइ छ ।

पछिल्लो समय तत्कालै सङ्घको महाविधेशन आह्वान गर्ने र नयाँ नेतृत्वलाई जिम्मेवारी दिएर विवाद अन्त्य गर्नेबारे छलफल सुरु भएको छ । तर कसको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने भन्ने विवादले सहमति अगाडि बढ्न सकेको छैन ।