केन्द्रीय कमिटी बैठकको तयारी गर्न एमाले पदाधिकारी बैठक सम्पन्न

568 पटक पढिएको

सम्पादक: Dhading News

601808_317617911704383_1048761598_nभक्तपुर, २१ मङ्सिर – नेकपा (एमाले) केन्द्रीय कमिटीको भोलिदेखि सुरु हुने बैठकको कार्यसूची तय गर्न बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठक सम्पन्न भएको छ ।

ओलीको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरु वामदेव गौतम, भीम रावल, विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, नेता युवराज ज्ञवाली, विष्णु पौडेललगायत नेताको सहभागिता थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता खनालले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकको तयारीस्वरुप आजको पदाधिकारी बैठक बसेको बताउनुुभयो ।

एमालेलाई कसरी एकढिक्का बनाएर लैजाने र संविधान निर्माणमा एमालेले गर्ने पहलकदमीका बारेमा छलफल भएको जानकारी दिँदै उहाँले समयमै संविधान कसरी निर्माण गर्ने र माघ ८ भित्र कसरी संविधान जारी गर्ने भन्ने बारेमा बैठकमा छलफल भएको बताउनुभयो ।

संविधान लेखनमा सक्रिय हुनुपरेको र आन्तरिक गृहकार्य गर्नुपरेको कारण देखाउँदै अध्यक्ष ओलीले १४ कात्तिकमा एक दिनमात्रै केन्द्रीय कमिटीको बैठक बसेर २२ मङ्सिरसम्मका लागि स्थगित गर्नुभएको थियो ।

यसअघि पोलिटव्युरो सदस्य निर्वाचनका लागि विधानको व्यवस्थामा संस्थापन पक्ष र नेता माधवकुमार नेपाल पक्षबीच विवाद भएपछि कुनै पनि निर्णय हुन सकेको थिएन भने एमाले महाधिवेशन सम्पन्न भएको पाँच महिना बित्न लाग्दा पनि पार्टी संस्थागतरुपमा चल्न नसकेको एवम् कार्यकारी निकाय गठन नभएको भन्दै ओलीको आलोचना भइरहेको थियो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले समूहका आधारमा निर्वाचन गरेरभन्दा सहमतिका आधारमा दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका वरिष्ठतम् व्यक्तिलाई समेट्दै केही योग्यतम् नयाँ युवाहरुलाई मिलाएर पोलिटब्युरो चयन गर्ने प्रस्ताव राखेको बैठकका सहभागीले जानकारी दिएका छन् ।

एमाले विधानअनुसार केन्द्रीय कमिटीको एकतिहाईमा नबढ्ने गरी पोलिटब्युरो सदस्यको निर्वाचन हुनुपर्ने व्यवस्थाअनुसार यसपटक बढीमा ५५ सदस्यीय पोलिटब्युरो चयन हुनुपर्नेछ, जसमा पदाधिकारी स्वतः पर्नेछन् ।