धादिङ र नुवाकोटमा रहेको पूर्व राजपरिवारको १५ हजार रोपनी जग्गा ट्रष्टको स्वामित्वमा

433 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २२ मङ्सिर । पूर्व राजपरिवारको स्वामित्वमा रहेको थप १५ हजार २७३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ ।

धादिङ र नुवाकोट जिल्लामा रहेको सो जग्गालाई सरकारले हालै ट्रष्टको स्वामित्वमा ल्याएको सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नागार्जुन दरबारले चर्केको जग्गा धादिङ र नुवाकोट जिल्लामा अवस्थित रहेको भन्दै ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालले बाँकी जग्गा भने नुवाकोटको थानसिङमा फेला परेको जानकारी दिनुभयो ।

यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म २२ हजार ५१८ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा ट्रष्टले संरक्षण गरिरहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको एक लाख ८१ ९४२ कित्ता सेयरसमेत प्राप्त भएको छ ।

नबिल बैंकमा एक लाख ४४ हजार ४७२, नेपाल औद्योगिक विकास निगममा छ हजार ७५० र होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर रहेको छ । त्यसमा होटल डेला अन्नपूर्णको थप १५ हजार कित्ता सेयर केही समय पहिले मात्रै पत्ता लागेको सहसचिव अर्यालले बताउनुभयो ।

त्यसैगरी गत असोज मसान्तसम्म विभिन्न बैंकहरूमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको र ४५ हजार ४५ बेलायती मुद्रा समेत ट्रष्टले आफ्नो स्वामित्वमा ल्याएको छ ।

मुलुकभर रहेका चल अचल सम्पत्तिको खोजबिन जारी रहेको भन्दै सहसचिव अर्यालले सुराक दिनेलाई उचित पुरस्कारको प्रबन्ध गर्न नसक्दा सही तथ्याङ्क प्राप्त हुन नसकेको बताउनुभयो ।

‘‘पूर्व राजपरिवारको सम्पत्ति अझै पनि स्वदेश तथा विदेशमा रहेको भन्ने अनौपचारिक सूचना ट्रष्टसँग रहेको भएपनि आवश्यक प्रमाण पु¥याउन नसक्दा एकीकृत गर्न सकिएको छैन’’सहसचिव अर्यालले भन्नुभयो ।

यस्तै नेपाल ट्रष्टको जग्गा उपयोग सम्बन्धी गुरुयोजनाको मस्यौदा तयार भएको र चल अचल सम्पत्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा छिट्टै योजना समेत तयार हुने उहाँको कथन थियो ।