बसमा गजक्क परेर महिला सिटमा बस्ने ३४५ जना पुरुष परे फन्दामा
659 पटक पढिएको
काठमाडौँ, ४ पुस । सार्वजनिक यातायातमा यात्रा गर्दा कतै तपाई महिला आरक्षित सिटमा बसिरहनु भएको त छैन ? एक पटक आंफु बसेको सिटको वारेमा ख्याल राख्नुहोला । महिला आरिक्षत सिटमा वसेर यात्रा गर्दै हुनुहुन्छ भने तपाई जुनसुकै वेलामा पनि प्रहरीको नियन्त्रणमा पर्न सक्नुहुनेछ ।सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।
बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको सो अभियानमा बौद्ध, थापाथली, थानकोट, विमानस्थल, कमलपोखरीजस्ता स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक वसन्त पन्तले महिलालाई आरक्षित ठाउँमा बस्ने पुरुषलाई नियन्त्रणमा लिएर ट्राफिक सचेतना दिएर छाडिएको बताउनुभयो ।
कतिपय अवस्थामा अन्जानमै पुरुष महिला सिटमा बस्ने र कतिपय अवस्थामा जानीजानी नै बस्ने गरेकाले उनीहरूलाई पर्याप्त जानकारी दिने र आगामी दिनमा यस्ता कुरामा सचेत गराउने उद्देश्य सो अभियानको रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडाँै उपत्यकाका २५ स्थानमा जाँच गरिएको थियो । नियन्त्रणमा लिइएका पुरुषलाई नजिकैको प्रहरी चौकीमा लगेर सचेतना कक्षा दिइएको थियो ।
यस कार्यबाट सडक अनुशासन र सडक सुरक्षा कायम हुने अपेक्षा आफूहरूले लिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो– “यो अभियानलाई निरन्तरता दिइने छ ।”
-तस्बिर साभार : अनलाईन खबर डट कम