देशभर एक हजार पुस्तकालय स्थापना गरिने

845 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, २१ पुस । शिक्षा मन्त्रालयले यसै शैक्षिक वर्षमा एक हजार पुस्तकालय स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।

tilak taunhalaसूचना विभागद्वारा सोमवार सञ्चार मन्त्रालयमा आयोजित प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले यस वर्षलाई पुस्तकालय वर्षका रुपमा मनाउने निर्णयअनुसार एक हजार पुस्तकालय स्थापनाका लागि बजेट तथा कार्यक्रम पठाइसकिएको जानकारी गराउनुभयो ।

उहाँले देशभर ८५७ वटा विज्ञान प्रयोगशाला स्थापनाका लागि पनि बजेट एवम् कार्यक्रम पठाइसकिएको बताउनुभयो ।

मन्त्रालयले शैक्षिक वर्ष २०७१ देखि प्राविधिक एसएलसी र २०७२ देखि एसएलसी परीक्षाको परीक्षाफल अक्षर ग्रेडिङ्ग प्रद्धतिबाट प्रकाशित गर्ने गरी प्रक्रिया अघि बढाएको सो अवसरमा उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार शिक्षक सेवा आयोगको शिक्षक पदको परीक्षामा उत्तीर्ण भई नयाँ नियुक्ति पाएका पाँच हजार शिक्षकलाई शैक्षिक जनशक्ति विकास केन्द्रबाट सेवा प्रवेश तालिम प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता चूडामणि पौडेलका अनुसार नेपालको राष्ट्रिय खेलकुद पहिचानका लागि समिति गठन भई कार्य प्रारम्भ भइसकेको जानकारी गराउनुभयो ।

युवा नीति २०६६ पुनरावलोकनको मस्यौदा तयार भई त्यसमा छलफल अघि बढाइएको जानकारी गराउँदै उहाँले युवा परिषद् गठन विधेयक संसद्मा पेस गरिएको बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्मार्फत देशका विभिन्न स्थानका खेल मैदानमा पूर्वाधार निर्माण एवम् मर्मत कार्य सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगको सचिवालयका सहायक प्रवक्ता सागर आचार्यले सचिवालयबाट कर्णालीमा ग्रामीण वस्ती विकास एवम् भूउपयोग गर्न समिति गठन गरी प्रयास थालिएको बताउनुभयो ।

आयोगबाट विकास आयोजनाका लागि जग्गा प्राप्ति पुर्नवास तथा पुनःस्थापना नीति, २०७१ को मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भएको उहाँले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा गत मङ्सिर महिनामा ३९४ उजुरी प्राप्त भएकोमा २७० वटा फछ्र्योट भएको र अन्य प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

देशमा भइरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि यही पुस १ गतेबाट सम्बन्धित मन्त्रालयलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

सामान्य प्रशासन मन्त्रालयका सहायक प्रवक्ता विष्णुहरि उपाध्यायले सेवानिवृत्त विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारीको सेवा उपयोगसम्बन्धी उच्चस्तरीय संयन्त्र गठन र सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृतिको चरणमा रहेको जानकारी गराउनुभयो ।

प्रभावकारी रुपमा अत्यावश्यकीय सेवा सञ्चालनका लागि दुई चरणको सेवा सञ्चालनमा ल्याइएको उहाँको भनाइ थियो ।