ठाउँठाउँमा बन्दको प्रतिकार

564 पटक पढिएको

सम्पादक: Dhading News

पूर्वमन्त्रीसहित आठ घाइते, जनकपुरमा एक बन्दकर्ताको मृत्यु
झापा/ सिरहा/जनकपुरधाम/धनगढी : एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आह्वान गरेको बन्दको प्रतिकारमा सर्वसाधारण र व्यापारी उत्रिन थालेका छन्। झापा र डडेलधुरामा सोमबार बन्दको प्रतिकारमा व्यापारी र सर्वसाधारण उत्रिए। पोखरा र सुर्खेतमा आइतबार बन्द अवज्ञा गरिएको थियो अन्नपूर्ण पोष्ट डट कममा खबर छापिएको छ ।
safe_imageझापा चन्द्रगढीका व्यापारीले जुलुस निकालेर बन्द अवज्ञा गरेका हुन्। उनीहरूलाई स्थानीयले पनि साथ दिए। डडेलधुरा सदरमुकाम अमरगढीमा बजार बन्द गराउन हिँडेका बन्दकर्तालाई स्थानीयवासी र व्यापारी मिलेर लखेटे।
डडेलधुरा बन्द कार्यक्रम नभए एमाओवादीसहितका कार्यकर्ता बन्द भन्दै सडकमा आए। अमरगढीमा व्यापारी र सर्वसाधारणले राष्ट्रिय झन्डा बोकेर प्रतिकार जुलुस निकाली अवज्ञा गरेको जानकारी व्यापारी शम्भुप्रसाद अवस्थीले दिए। विरोधमा जुलुस निकालिएपछि बन्द पक्षधर भागे।
झापामा बन्द विरोधमा सडकमा निस्किएका व्यापारी र बन्द पक्षधरबीच झडपसमेत भयो। झडपमा बन्द पक्षधर गठबन्धनको एक घटक मधेसी जनअधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको र अन्य दुईजना सामान्य घाइते भएको पार्टीका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए।
उनका अनुसार घाइतेको उपचार मेची अञ्चल अस्पतालमा भइरहेको छ।
झडपपछि चन्द्रगढी र भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। व्यापारीहरूले ‘गरिखान नदिने बन्द अन्त्य गर, काम गर्न नदिने भए हाम्रो ऋण तिरिदेऊ, हााम्रा बालबच्चा पालनपोषणको जिम्मा लेऊ’ जस्ता नारा लगाएका थिए।
सिरहाको लहानमा भने बन्द पक्षधर र प्रहरीबीच झडप हुँदा पूर्वमन्त्री राजलाल यादवसहित पाँच प्रदर्शनकारी घाइते भएका छन्। लहानस्थित पेट्रोलपम्पनजिकै झडप भएको हो।
घाइते हुनेमा यादव, तमलोपाका नेता राकेश झा, मो. गुलाबलगायता पाँचजना छन्। घाइतेको लहानस्थित रामप्रसाद उमास्मारक अस्पालमा उपचार भइरहेको छ। तनावग्रस्त लहानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
बन्दका क्रममा जनकपुरधाममा एकजनाको ज्यान गएको छ। बन्द पक्षमा निकालिएको नाराजुलुसमा सहभागी महोत्तरी एकरहिया घर भई जनकपुर उपमहानगरपालिका उत्तिमपुरमा डेरामा बस्दै आएका करिब ३५ वर्षीय राजाराम झाको मृत्यु भएको हो।
एमाओवादीले झा आफ्नो कार्यकर्ता भएको दाबी गरेको छ। भ्रमरपुरा चोकमा झडप हुँदा प्रहरीले बन्दुकको कुन्दाले कुटेर अचेत भएका झाको उपचारका लागि अस्पताल लैजाँदा मृत्यु भएको दाबी एमाओवादी धनुषा इन्चार्ज झल्कु यादवले गरेका छन्।
धनुषा प्रहरीले भने छातीमा हात राखेर आएका झालाई स्थानीयको आग्रहमा गाडीमा राखेर अस्पताल पु:याएको र चिकित्सकले मृत घोषित गरेको जनाएको छ। झाको पोस्टमार्टम मंगलबार गर्ने सहमति भएको छ।
रिक्साचालक झाका पत्नी र दुई छोराछोरी छन्। झाको मृत्युपछि उनको शव लगेर जुलुस निकाल्ने भन्दै अस्पताल क्षेत्रमा नाराबाजी गरिरहेका बन्दकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको थियो।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले तराई-मधेस बन्दका क्रममा व्यापक दमन गरिएको आरोप लगाउँदै मंगलबार मेची र महाकाली बन्द घोषणा गरेको छ।
मधेस, थरुहट, थारुवान, खसान, कर्णाली, खप्तड बन्दका क्रममा सोमबार धनुषामा प्रहरीको पिटाइबाट राजाराम झाको मृत्यु भएको भन्दै गठबन्धनले त्यसको विरोधमा थप बन्द आह्वान गरेको हो।
झालाई सहिद घोषणा गर्न गठबन्धनले सरकारसँग माग गरेको छ। ‘बन्दमा प्रहरीद्वारा बर्बर दमन र हस्तक्षेप’ भएको गठबन्धनको सोमबारको बैठकपछि संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गठबन्धनले मंगलबार नेवा, ताम्सालिङ र नेकपा-माओवादीले भोजपुरा, नेवा र ताम्सालिङ बन्द आह्वान गरेको छ।