माफी मागेपछि मात्रै वार्ता, प्रक्रिया रोकिदैन

426 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस एमालेसहितको गठबन्धनको बैठकले एमाओवादी तथा मधेसी मोर्चाले माफी नमागेसम्म कुनै पनि औपचारिक वार्ता हुन नसक्ने निर्णय गरेका छन्।
संविधान लेखनको प्रक्रियालाई धरापमा पार्न संविधानसभामा योजनवद्ध ढंगले हिंसात्मक आक्रमण गरेको ठहर गर्दै बैठकले यस्तो निर्णय गरेको हो। सोमबार मध्यरातमा संविधानसभामा भएको घटनाको जिम्मेवारी लिदै माओवादीले माफी मागेपछि मात्रै सम्वाद हुनसक्ने निश्कर्ष कांग्रेस एमाले नेतृत्वले निकालेको छ। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत  दुवै दलका वरिष्ठ नेताहरु तथा सरकारमा संलग्न अन्य दलका नेता पनि सहभागी थिए।
बैठकले संविधान लेखनको प्रक्रिया पछाडि नफर्किने निर्णय गर्दै प्रक्रियाबाटै संविधान ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। सत्ता गठबन्धनमा संलग्न दलहरुको बैठकपछि बालुवाटारमा संविधानसभामा रहेका अन्य सानादलसहितको बैठक पनि बालुवाटारमा बसेको थियो। आठ दलको बैठकले संविधानसभामा भएको घटनाको निन्दा गर्दै संयुक्त विज्ञप्ती जारी गरेको छ। संविधानसभा भवनमा भएको तोडफोड तथा आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएको छ।
यसअघि संविधानसभा भवनमा पत्रकारसँ‌गको भेटमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्षा केपी ओलीले संविधान प्रक्रियाबाटै आउने बताएका थिए। प्रधानमन्त्री कोइरालाले भने, ‘सहमति नभएपछि अब प्रक्रियाबाट संविधान आउँछ।’ उनले भने, ‘संविधान बनाउने अवसर गुमाउनु हुँदैन।’ उनले एमाओवादीलाई जिम्मेवार र मर्यादित भएर संसद्मा प्रस्तुत हुन आग्रह गरेका छन्।
एमालेका अध्यक्ष ओलीले अब  संविधान नरोकिने बताए। उनले कसैको बल देखाउँदैमा प्रक्रिया नरोकिने र संविधान दुईतिहाईबाटै आउने बताए । संविधानसभामाथि आक्रमण गरेर माओवादीले आफ्नो चरित्र र नियत जनतासमेत उदांग पारेको बताए।