म इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गत भदौमा अपराध अनुसन्धान महाशाखामा आएको हुँ । म यहाँ आउनुअघि नै मेगा बैंक ठगी प्रकरणबारे सुनेको थिएँ । घटना एक वर्षअघिको हो । ठगहरूले गत वर्ष माघ १२ मा मेगा बैंकको नयाँ सडक शाखामा रहेको टुरिज्म बैंकको खाताबाट ९ लाख ९० हजार र माघ १३ मा राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटी शाखाबाट २ करोड रुपियाँ गरी जम्मा २ करोड नौ लाख ९० हजार रुपियाँ क्लियरिङको माध्यमबाट जम्मा गरी ठगी गरे भन्ने सुनेको मात्र थिएँ । अपराध महाशाखाले म आउनुअघि नै यस प्रकरणबारे अनुसन्धान गरिरहेको रहेछ । म अपराध महाशाखामा आएपछि यो घटनाबारे थप बुझें । मैले यो घटनाको जिम्मा लिनुभन्दा अघि भएको अनुसन्धानमा घटनामा सञ्जय ढकाल भन्ने व्यक्तिको संलग्नता देखिएको र ऊ बैंककमा बस्ने गरेको भन्ने निष्कर्षसम्म पुगेको रहेछ ।
एसएसपी पुष्कर कार्की साबले यो प्रकरणको थप अनुसन्धान गरी दोषी पत्ता लगाउने जिम्मा मलाई दिनुभयो । मेगाको अनुसन्धान सक्नुपर्छ भन्ने भनाइ उहाँको सधैं रहन्थ्यो ।
यो घटनाको अनुसन्धान करिब एक महिना अगाडिबाट सुरु गरे पनि अन्तिमको एक साता भने रात दिन नभनी काम गरियो । जब सञ्जय ढकाल भन्ने व्यक्ति पक्राउ परे अनि अनुसन्धान प्रक्रियाले अर्कै मोड लियो । एसएसपी साबबाट पनि विभिन्न सल्लाह र आइडिया प्राप्त भए भने एसपी प्रकाश अधिकारी साबले पनि समय–समयमा विभिन्न सल्लाह र सुझाव दिनुभयो, जसको फलस्वरूप यसको एक साता नपुग्दै घटनाका वास्तविक दोषीहरू पत्ता लागे । सञ्जय ढकाल भन्ने व्यक्तिको सुरुमा संलग्नता कसरी दखियो, उनी कसरी पक्राउ परे र अन्तिममा कसरी निर्दोष प्रमाणित भए भन्ने पनि रोचक पाटो छ । ठगीमा संलग्नहरूले वाणिज्य बैंकको भोटाहिटी शाखामा ढकालको नाममा र टेकु शाखामा रजत तोदीका नाममा खाता खोलेका थिए । ढकाल र तोदीको नागरिकता दुरुपयोग गरी बद्मासी भएको अनुसन्धानको क्रममा खुलेको हो । कतिसम्म भने ठगहरूले होटलमा भेटिएको राम बम्जन भन्ने व्यक्तिको नागरिकताको फोटोकपीसमेत प्रयोग गरेर बैंक खाता खोलेको भेटिएको छ । ढकाल बैंककमा बस्दै आएका थिए । म यसबीचमा विभिन्न कामको सिलसिलामा दुई पटक बैंकक गएँ । त्यस क्रममा पनि मैले त्यहाँ रहेका नेपाली दाजुभाइमार्फत् ढकालका बारेमा बुझें । पहिलो पटक जाँदा नै ढकाल त्यहाँ रहेको पत्ता लागिसकेको थियो । दोस्रो पटक जाँदा उनको बारेमा थप बुझें । बुझ्दै जाँदा उनले हराएको ट्राभल्स डकुमेन्ट प्रयोग गरेको भन्ने कुरा पत्ता लाग्यो । आफ्नो पासपोर्ट हरायो भनेर दूतावासमा खबर गरिसकेका रहेछन् । दूतावासले त्यो जानकारी नेपालस्थित परराष्ट्र मन्त्रालयलाई गराएपछि त्यसको जानकारी इन्टरपोललाई पनि गराइएको रहेछ । हरायो भनिए पनि उनले त्यही पासपोर्ट प्रयोग गरिरहेका रहेछन् । त्यहाँको इमिग्रेसन कानुन सेक्सन १२ अनुसार त्यस्तो कागजात प्रयोग गर्ने व्यक्तिलाई डिपोट गर्ने व्यवस्था रहेछ । उनलाई पनि डिपोट गर्दैछ भन्ने सुने । जुन दिन उनलाई थाइल्यान्डबाट डिपोट गरियो । उनी काठमाडांै विमानस्थलमा ओर्लनासाथ त्यहीँबाट पक्राउ गरियो ।
एसएसपी साबले मेरो नेतृत्वमा मैले मागे अनुसारको जनशक्ति पनि खटाइदिनुभयो । इन्स्पेक्टर शिशु शर्मा, जागेश्र भण्डारी, पुरुषोत्तम पाण्डे, बेलाबेलामा गोविन्द पन्थी, सई गजेन्द्र रावल, अमीर श्रेष्ठका साथै अभियोजन र आईटीका मान्छेहरूलाई साथमा लिएर करिब एक महिना अगाडिबाट यो घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएँ । अघिल्लो पटकको अनुसन्धानका क्रममा विभिन्न पिलरका जो–जो व्यक्ति संलग्न थिए, उनीहरूलाई एकीकृत पारेर सबैभन्दा पहिले टिमलाई बलियो बनाइयो । टिम बलियो भएपछि कामले ढिलो–चाँडो परिणाम ननिकाल्ने कुरै थिएन । तर, यस पटक म आफूले सोचेभन्दा छोटो समयमा यो प्रकरणको वास्तविकता उजागर गर्न सकियो ।
अनुसन्धानको क्रममा सञ्जय ढकाल निर्दोष देखिए । अनुसन्धान प्रक्रियामा उनले पनि राम्रो सहयोग गरे । तोदीलाई ल्याएर अनुसन्धान गर्दा उनी पनि निर्दोष देखिए । अनुसन्धानका सबै पाटा सकिएका थिए । जसको संलग्नताको शंका गरिएको थियो, कागजागहरू प्रयोग भएका थिए, ती निर्दोष दखिएपछि बंैकका कर्मचारीको मिलेमतोको सम्भावना देखियो र अनुसन्धानलाई त्यता केन्द्रित गर्यौं । बैंकका कर्मचारीसँग कुरा गर्दै जाँदा उनीहरूको राम्रो सहयोग पाइयो । उनीहरूसँग नजिकको सम्बन्ध बनाइयो र विश्वास पनि जितियो । उनीहरू यो मुद्दा चाँडै टुंगियोस् भन्ने चाहन्थे । अन्तिमका ६ दिन दिनरात नभनी लागियो ।
ल्होसारको अघिल्लो दिन सीसीटीभी मोनिटर हेरियो । पहिले त्यो मोनिटरमा भएको मान्छे कसैले चिन्दैनौं भन्थे । वास्तवमा त्यो चिनिने अवस्थाको थिएन पनि । हामीले त्यहाँ दखिने मान्छेको शारीरिक बनावटलाई विशेष ध्यान दिएर हेर्यौं । खुट्टा हल्का बांगो जस्तो लाग्यो । ल्होसारको बिदाको दिन बैंकका कर्मचारी बोलाएर त्यस्तो शारीरिक बनावट भएको मान्छे को हुन सक्छ भनेर सोध्यौं । सुरुमा कसैले त्यस्तो व्यक्ति इन्टर्नमा आएको थियो भने । पछि शंका गर्दै जाँदा धादिङ शाखाका मेनेजर राजेन्द्र पाण्डे पनि त्यस्तै–त्यस्तै बनावटका थिए भन्ने कुरा आयो । उनी घटना भएको एक महिनापछि नै छात्रवृत्तिमा पढ्नका लागि क्यानडा जान्छु भनेर बैंक छाडेर हिँडेका रहेछन् । उनलाई खोज्न कहाँ जाने भन्ने समस्या भयो । दाजुभाइको बनावट पनि मिल्न सक्छ भनेर उनका दाजुभाइ खोज्न थालियो । उनका एक जना भाइ बैंकमा आइरहन्थे भनेर एक जना कर्मचारीले भने । ती भाइलाई ल्याउनका लागि सई गजेन्द्र रावललाई खटाइयो । उनले आधा घन्टाभित्रै लिएर आए । उनको नाम प्रवीण पाण्डे रहेछ । उनलाई ल्याएर सोधपुछ गरेपछि सबै कुरा खुल्यो । अनुसन्धानको क्रममा मेगा बैंकको कान्तिपथ शाखाका मेनेजर शम्भु थापालाई पहिल्यै ल्याइएको थियो । शम्भुले पनि प्रवीणलाई चिन्दा रहेछन् । प्रवीणलाई ल्याउनासाथ उनीहरूले हात मिलाए । प्रवीणलाई यो घटनाप्रति प्रायश्चित्त पनि भएको पाइयो । उनले केमेस्ट्रीमा एमएस्सी गरेका रहेछन् ।
प्रवीणसँगको सोधपुछपश्चात बैंक मेनेजर र उनका दाइको मिलेमतोमा यो काम भएको भन्ने कुरा खुल्यो । उनको गोंगबुस्थित डेरामा १० लाख १५ हजार पैसा भेटियो । त्यो पैसा धमिराले अलि–अलि खाए पनि चल्न सक्ने अवस्थामा थियो । बाँकी पैसा धादिङस्थित घरमा लुकाइएको रहेछ । त्यो पैसा अहिले प्रयोग नगर्नु कुनै पनि बेला तिनुपर्ने हुन पनि सक्छ भनेर राजेन्द्रले भनेकाले प्रयोग नगरी खोपामा राखेर पर्खाल लगाइएको रहेछ । यसबीचमा उनीहरूले काठमाडांैमा ५७ लाखमा घडेरी किनेछन् । १ लाख रुपियाँ बैनाबापत दिइएको रहेछ । बाँकी पैसा लिन जाँदाँ धमिरा लागेको हुनाले सद्धे जति ल्याएछन् बाँकी काम नलाग्ने चाहिँ नष्ट गर्नकै लागि खाल्डोमा पुरेका रहेछन् ।
यो प्रकरणका मुख्य योजनाकार मेगा बैंकको धादिङ शाखाका तत्कालीन मेनेजर राजेन्द्र पाण्डे रहेछन् । उनी क्यानडा जान्छु भनेर हिँडे पनि अहिले जापानतिर भएको बताइएको थियो । यसबीचमा राजेन्द्र पाण्डेसँग पनि कुराकानी भयो । उनलाई तपाईं नेपाल आउनुहोस्, होइन भने हामीले इन्टरपोल लगाएर भए पनि ल्याउँछौं भनेपछि राजेन्द्रले म आफैँ आउँछु भने । हिजो मात्र उनी आएका छन् र अहिले अनुसन्धान जारी छ । मेगा बैंककै कान्तिपथ शाखाका तत्कालीन मेनेजर शम्भु थापा योजनाकार र सहयोगी भएको पाइयो भने राजेन्द्रका एक भाइ प्रवीण मुख्य योजनाकार र कार्यान्वयनकर्ता तथा अर्का भाइ प्रदीप सहयोगी भएको पाइयो । प्रदीपले चाहिँ पैसा कलंकीसम्म पुर्याउन मात्र भूमिका खेलेको देखिन्छ । एकाउन्ट खोल्ने, पैसा निकाल्ने सबै काम प्रवीणले गरेका रहेछन् । यो प्रकरणमा बैंकका अरू कसैको पनि संलग्नता नरहेको पनि उनीहरूले स्वीकारेका छन् । यसरी समग्रतामा यो प्रकरणको छानबिनमा अपराध महाशाखाले सफलता प्राप्त गरेको छ ।
यो ठगी प्रकरणको सुरुआत गत मंसिर ९ गतेबाट भएको थियो । उक्त दिन मेगा बैंकको कान्तिपथ शाखाबाट अनाधिकृत रूपमा टुरिजम डेभलपमेन्ट बैंकका १० वटा चेकबुक जारी भएका थिए । आफूलाई टुरिजम बैंकको कर्मचारी भनेर प्रवीण पाण्डेले चेक लगेका थिए भने चेक दिन बंैकका मेनेजर शम्भु थापाले कर्मचारीलाई निर्देशन दिएका थिए । त्यसको एक महिनापछि पाण्डेले आफूलाई रजत तोदी बताएर तोदीको नामबाट वाणिज्य बैंकको टेकु शाखामा खाता खोलेका थिए । त्यसको भोलिपल्ट सञ्जय ढकालको नामबाट वाणिज्य बैंककै भोटाहिटी शाखाबाट अर्को खाता खोलेका थिए । उनी मेगा बैंकको ग्राहक पनि भएको हुनाले सोही बैंकबाट ढकालको कागजपत्र लिइएको थियो । दुइटा खाता खोलिसकेपछि पैसा जम्मा गर्न थालेका थिए । १२ माघमा ढकालको नामबाट प्रवीणले मेगा बैंकको न्यूरोड शाखाबाट टुरिजम बैंकका तत्कालीन सीईओको किर्ते दस्तखत गरी ९ लाख ९० हजार भुक्तानी लिएका थिए । भोलपल्ट ढकालकै भोटाहिटी शाखाको खातामा चेक क्लियरिङका माध्यमबाट २ करोड जम्मा गरेका थिए । पैसा जम्मा भएपछि ढकालको नामबाट विभिन्न व्यक्तिका नाममा चेक काटिएका थिए । र, उनीहरूले १ करोड ४१ लाख ९० हजार रुपियाँ निकाल्न सफल भएका थिए ।
वसन्त रजौरे अपराध अनुसन्धान महाशाखा, हनुमानढोकामा डिएसपी हुनुहुन्छ । – कुराकानीमा आधारित
(बुधवार साप्ताहिकबाट )