पूर्व राजपरिवारको सम्पत्ति खोजबिन अभियान तीव पारिंदै

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ र नुवाकोटमा क्रमशः १५ हजार २७३ र १३ रोपनी थप जग्गा प्राप्त 

timthumb (1)काठमाडौँ, २० माघ । सरकारले पूर्व राजपरिवारको नाममा रहेको भौतिक सम्पत्ति खोजबिनको क्रमलाई तीव्रता दिएको छ ।

पूर्व राजपरिवारको भौतिक सम्पत्तिलाई एकीकृत रूपमा मुलुक र जनताको हितका लागि प्रयोग गर्न सरकारले नेपाल ट्रष्टको कार्यालयमार्फत अभियानात्मक रूपमा काम अगाडि बढाएको जनाएको छ ।

ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालका अनुसार हालसम्म २२ हजार ५१८ रोपनी जग्गा ट्रष्टको स्वामित्वमा आइसकेको छ । चालु आवमा पनि जग्गा खोजबिनको काम जारी रहेका कारण थप जग्गा प्राप्त हुने विश्वास लिइएको उहाँले जानकारी दिनुभयो ।

धादिङ र नुवाकोटमा क्रमशः १५ हजार २७३ र १३ रोपनी थप जग्गा प्राप्त भएको सहसचिव अर्यालको भनाइ छ ।

यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म विभिन्न बैंकमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको पाइएको छ ।

ट्रष्टको नाममा नबिल बैंक लिमिटेड, होटल डेला अन्नपूर्ण र नेपाल औद्योगिक विकास निगममा गरी हालसम्म एक लाख ८१ हजार ९४२ कित्ता सेयर रहेको छ । त्यसमध्ये नबिल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, निगमको छ हजार ७५० कित्ता, होटल अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर रहेको छ ।

यसैगरी ट्रष्टको मातहत ल्याइएको जग्गा उपभोगसम्बन्धी गुरुयोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको र केही समयभित्रै त्यसले पूर्णता पाउने जानकारी दिँदै सहसचिव अर्यालले हालसम्म ललितपुर, चितवन, हेटौँडामा सघन रूपमा सम्पत्ति खोजबिन अभियान नै सञ्चालन गरिएको तथा पोखरामा सार्वजनिक अन्तरक्रिया सम्पन्न भएको बताउनुभयो ।

गत मङ्सिरमा ललितपुरमा सञ्चालन गरिएको सघन सम्पत्ति खोजबिन कार्यक्रममा गौदामचौर–१ मा वडामहारानी नारायणहिटी गुठीको नाममा आठ रोपनी १० आना तीन पैसा जग्गा भेटिएको उहाँले जानकारी दिनुभयो ।