युवा संघको नेतृत्वमा निरुपाल
1345 पटक पढिएको
काठमाडौं : एमालेसम्वद्ध युवा संघ नेपालको अध्यक्ष निरु पाल भएकी छिन्। युवा संघको केन्द्रीय समितिको बुधबारको बैठकले निवर्तमान अध्यक्ष महेश वस्नेतको राजीनामा स्वीकृत गर्दै निरुपाललाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो।युवा संघमा ४० वर्ष उमेर पुरा भएपछि नेतृत्व गर्न नपाइने प्रावधान रहेको छ । बस्नेत यसअघि दुर्इ पटक अध्यक्षमा निर्वाचित भएका थिए । उनले एक कार्यकाल पूरै र यो कार्यकाल आधा समय नेतृत्व लिएका थिए ।
बस्नेत उद्योगमन्त्री भएपछि कार्यवहाक अध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य समेत रहेकी निरु पालले युवा संघको नेतृत्व सम्हालेकी हुन् ।
बस्नेतले राजीनामा दिएपछि बुधबार नयाँ बानेश्वरस्थित कार्यालयमा बसेको युवा संघ स्थायी कमिटीको बैठकले अन्य पदाधिकारीको जिम्मेवारी समेत हेरफेर गरेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।
निरुपाल अध्यक्ष भएपछि तथा झपड रावलले राजीनामा दिएकाले खाली भएका दुर्इ उपाध्यक्ष पदमा कोषाध्यक्ष गोविन्द थापा र सचिव सरोजदिलु विश्वकर्माले जिम्मेवारी पाएका छन् ।
बैठकले संघको कोषाध्यक्षमा कार्यालय विभाग प्रमुख माधव बास्तोलालार्इ बढुवा गरेको छ । त्यसैगरी अनेरास्ववियुका नेता बचन सिंहलाई सचिव पदको जिम्मेवारी दिइएको छ ।
यसअघि प्रवक्ताको समेत जिम्मेवारी लिइरहेका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवाललाई स्थायी कमिटी सदस्यमा बढुवा गरिएको छ । उनले कार्यालय विभाग प्रमुखको अर्को जिम्मेवारी समेत पाएका छन् ।







