मन्त्रीपरिषद्को बैठकले मुलुक हाँक्ने १७ प्रशासकहरुलाई सचिवमा बढुवा

421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 singh darbaarकाठमाडौं २२ माघ-  सरकारले १७ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको बढुवा र पदस्थापना कतिपयलाई पछि गर्ने भएको छ । सरकारले टंकमणि शर्मा, श्रीधर सापकोटा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, दिनेश थपलिया, विजयकुमार मल्लिक, नवराज भण्डारी, ईश्वरीप्रसाद पौडेल, लक्ष्मणप्रसाद मैनाली, शरदराज विष्ट, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, रामकुमार आचार्य, रमेशकुमार शर्मा, ईश्वरराज श्रेष्ठ र राजन खनाललाई सचिवमा बढुवा गरेको हो । यसअघि लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी नेतृत्वको बढुवा सिफारिस समितिले सचिव पदमा बढुवाका लागि ४२ जना सहसचिवको नाम सिफारिस गरि पठाइएको थियो ।

कुन सचिव कहाँ छन् त ?

सुनिलबहादुर मल्ललाई सूचना तथा सञ्चार मन्त्रालयमा, विजयकुमार मल्लिकलाई मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा, ईश्वरीप्रसाद पौडेललाई जल तथा उर्जा आयोगमा र रमेशकुमार शर्मा, राष्ट्रिय सतर्कता केन्द्र कामू सचिव भएकै बखत दिइएको जिम्मेवारीमा रहेका छन् । यसैगरी दिनेशकुमार थपलिया पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा, खुमराज पुन्जाली शान्ति मन्त्रालयमा, टंकमणी शर्मा सार्वजनिक खरिद अनुगमन कार्यालयमा र प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग जहाँ पहिले नै उनीहरुलाई जिम्मेवारी तोकिएको थियो ।
त्यसैगरी, लेखा परिक्षण सेवाबाट ईश्वरराज श्रेष्ठलाई महालेखा परीक्षकको कार्यालयमा रहने गरि सचिवहरु बढुवा भएको सूचना तथा सन्चार मन्त्री डा. मीनेन्द्र रिजालले मन्त्रीपरिषद्को बैठकपछि जानकारी गराए ।
यसैगरी मन्त्रीपरिषद्को बैठकले नेपाल विविध सेवा राजपत्रांकित तृतीय श्रेणीको महिला विकास अधिकृतको न्यूनतम शैक्षिक योग्यता तोक्नाका साथै निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति उपलब्ध गराउने निर्देशिका २०७१ पनि पारित गरेको छ । अन्तरदेशीय धर्मपुत्र र धर्मपुत्री व्यवस्थापन समितिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा अर्को व्यवस्था नहुन्जेलका लागि वनस्पति विभागका महानिर्देशक यमबहादुर थापालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री रिजालले जानकारी दिए ।
यसैबीच, सरकारले माघी महोत्सव मनाएका थारु कल्याणकारी सभा र नेपाल मगर संघलाई पाँच–पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ भने तमु गुरुङ संग्राहालय भवन निर्माणका लागि २५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।