काठमाडौँको जनसङ्ख्या बीस वर्षमा असी लाख
468 पटक पढिएको


काठमाडौँ उपत्यकाको अत्यधिक जनसङ्ख्या वृद्धिसँगै दीर्घकालीन रुपमा पर्ने यातायातको समस्या सम्बन्धमा ‘लिभेबल काठमाडौँ’ नामक संस्थाले आज आयोजना गरेको छलफलमा काठमाडौँ क्षेत्रमा भएको अत्यधिक जनसङ्ख्या र सवारी साधनको अवस्थालाई ध्यान दिई बाटो विस्तार गर्नुभन्दा मेट्रो रेल बनाउन सुझाव दिइयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापाले अत्यधिक बसाइँसराइँका कारण जनसङ्ख्या बढेको बताए । इ.डा. सूर्यराज आचार्यले साना सवारीसाधनलाई तत्काल हटाउनुपर्ने बताउँदै भने “बाटो साँघुरो र अत्यधिक साना सवारी साधनले गर्दा दिनानुदिन जनता जाम खेप्न बाध्य छन् ।”
नागरिक अगुवा कनकमणि दीक्षितले यातायातलाई व्यवस्थित बनाउने प्रमुख दायित्व सरकारको भएको बताए । कार्यक्रममा वातावरणविद् भूषण तुलाधार, कमल पाण्डे, वसन्त गिरीलगायतले उपत्यकाको सवारी साधनको बारेमा चासो व्यक्त गर्नुभएको थियो ।
काठमाडौँ उपत्यकामा भइरहेको खानेपानी, ढल, जलवायु, ऊर्जा, यातायात र फोहोरमैलाको बारेमा संस्थाले विज्ञसँग छलफल तथा अन्तक्रिया गर्दे आइरहेको छ ।