पत्रकारमाथि लगाइएको मुद्दा फिर्ता

516 पटक पढिएको

सम्पादक: Dhading News

नेपालगन्ज,  – बाँकेका दुई पत्रकारलाई लगाइएको सार्वजनिक अपराधको मुद्दा फिर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । जिल्ला सरकारी न्यायधीवक्ता सुरेन्द्रजंग शाहीले प्रमाणको अभावमा मुद्दा नचलाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा नेपाल पत्रकार महासंघ बाँकेका सचिव समेत रहेका सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार तिलक गाउँले र माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार क्षेत्रनाथ देवकोटालाई गएको माघ २५ गते सार्वजनिक अपराधको मुद्दा दर्ता भएपनि पत्रकार आन्दोलनमा उत्रिएका थिए ।

पत्रकार महासंघ बाँके शाखाले चरणवद्ध आन्दोलनको घोषणा गर्दै प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितीमा नेपालगन्जमा हुन लागेको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो । सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि बुधबार बसेको महासंघ बाँकेको बिस्तारित बैठकले घोषित आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको छ ।