विनाशकारी भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ७०९ पुग्यो

421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

Dead Bodies Recoverकाठमाडौँ, – देशका विभिन्न भागमा वैशाख १२ र २९ गते आएको बिनाशकारी भूकम्पमा परी जेठ २१ गते साँझसम्म आठ हजार ७०९ जनाको ज्यान गुमेको छ भने २२ हजार ४९३ जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७२९, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ४६१, पश्चिम क्षेत्रमा ४५९ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका छन् भने घाइते हुनेमा उपत्यकामा १३ हजार १७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा सात हजार ७४४, पश्चिम क्षेत्रमा एक हजार २४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई छन् ।

घाइतेमध्ये चार हजार ४०५ जना विभिन्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना छ जना, सशस्त्र प्रहरी ३२ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत उपरोक्त सङ्ख्यामै समावेश गरिएको छ ।

हालसम्म नेपाली १८९ विदेशी नागरिक ८० जना बेपत्ता छन् ।

भूकम्पबाट ५५ प्रतिशत महिलाको मृत्यु

यसैगरी राष्ट्रिय महिला आयोगले भूकम्पबाट चार हजार ८०० महिलाको मृत्यु भएको जनाएको छ ।

आयोगले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भूकम्पका कारण मृत्यु हुनेमध्ये महिला ५५ प्रतिशत रहेको जनाएको हो ।

भूकम्पबाट प्रभावित सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, लमजुङ र तनहुँको अनुगमन गरेको आयोगले काभ्रेमा पालभित्र रहेका महिलामाथि यौनजन्य हिंसा गरिएको भेटेको थियो ।

आयोगका अध्यक्ष शेष चाँद ताराले भन्नुभयो–‘हामीले ती जिल्लामा राहतसम्बन्धी सबै संयन्त्रमा महिला सहभागिता भए÷नभएको, भूकम्पले विशेष अवस्थाका सुत्केरी, गर्भवती, वृद्धा तथा अपाङ्गता भएका महिला तथा बालबालिकामा पारेको प्रभाव, उनीहरूलाई उपचार गराउने व्यवस्थालगायतका विषयलाई ध्यान दिएका थियौँ ।’

सरकारले राहत वितरण गर्दा विशेष अवस्थाका महिला र विभिन्न उमेर समूहका महिलालाई प्राथमिकता दिई राहत सामग्री उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ ।