काठमाडौँमा डेराको समस्या, घरधनीबाट कतै राहत कतै आहत

466 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौ । काठमाडौँमा धेरै घरहरू भत्केपछि अधिकांश डेरावाललाई यतिखेर डेराको चरम समस्या देखिएको छ । घर चर्केपछि अझै कतिपय स्थानमा सर्वसाधारण पालमुनि बस्न बाध्य भएका छन् ।

काठमाडौँ बाहिर विभिन्न जिल्लामा स्थायी बासोवास भई विभिन्न सेवा, पेसा व्यवसायमा संलग्न व्यक्तिको काठमाडौँमा चलिरहेको दैनिकी यतिखेर डेराकै कारण प्रभावित बनेको छ ।

डेरा चर्केपछि काठमाडौँबाट बाहिरिएका धेरै व्यक्तिमध्ये कतिपयलाई डेरा नपाएकै कारण अझै फर्कन समस्या भएको छ । घरधनीहरूले भाडा चर्को भन्ने गरेका कारण पनि समस्या बढिरहेको पीडितको गुनासो छ ।

सर्वसाधारणका समस्या बुझ्न राखिएको हेलो सरकार, भूकम्पको विपत्तिपछि राखिएको कल सेन्टरमा डेरा नपाएको, मनोमानी भाडा बढाउने गरेको जस्ता धेरै गुनासा पनि आउने गरेका छन् ।

भूकम्पका कारण लामो समय घर छोडेर एउटै पालमुनि बस्न बाध्य कतिपय डेरावाल र घरधनीको सौहाद्रता यतिखेर भूकम्पकै कारण बढेको सप्तरी स्थायी घर भई काठमाडौँको कीर्तिपुर बस्दै आएका रुपेश यादव बताउँछन ।

“कतै घरधनीहरूले एक महिनाको घर भाडा मिनाहा गरेका छन् भने कतै यसैलाई अवसर बनाइ चर्को भाडा असुल्नेको पनि बिगबिगी छ । राष्ट्रिय विपत्तिमा मानवीयता प्रदर्शन गर्नुपर्ने बेलामा उल्टो भाडा बढाउने कुरा अमानवीय व्यवहार हो ।” (उनले भने ।

राजधानीका कतिपय घरधनीले यस वर्ष भूकम्पका कारण सबै परिवार परेको भन्दै एक महिनाको भाडा मिनाह गरेका कारण धेरैलाई यसले राहत महसुस गराएको छ ।

कलङ्की घर भएकी उत्तिमा भण्डारीले भूकम्पले नेपाली जनतामा पारेको यस पीडामा घरमा बस्ने सबै डेरावालको एक महिनाको भाडा मिनाह गरेका छन ।

“भूकम्प प्राकृतिक विपत्ति हो । यसले सम्पन्न विपन्न, ठूलो सानो केही भनेन । काठमाडौँसहित देशका धेरै जिल्लामा यसले प्रभाव पारेको छ । यो बेला एकले अर्कालाई सहयोग गर्ने बेला हो” (उनले भने ।

यसअघि हुँगा गाविस–३ स्थायी बसोबास भई विगत १५ वर्षदेखि काठमाडौँमा घर बनाइ बस्दै आएकी उहाँले भूकम्पले एक महिनाभन्दा बढी सबैलाई त्रास बनाएका कारण मानवीय हिसावले एक महिनाको घर भाडा मिनाह गरेको जानकारी गराए ।

राष्ट्रको यस विपत्तिमा एकले अर्कालाई अन्तरहृदयबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । राजधानीमा धेरै घर चर्केका कारण यतिखेर कोठा खोज्नेहरूको भीड पनि त्यतिकै बढेको छ । कतिपय घर नचर्केका ठाउँमा पनि भूकम्पको डरले गर्दा दोस्रो तलाभन्दामाथि बसेका यतिखेर तल्लो तला वा दोस्रो तलामा कोठा पाउने आशामा भौतारिएका देखिन्छन् ।

धादिङ घर भई काठमाडौँमा तरकारीको व्यापार गर्दै आएका हरि अधिकारी आफू बस्दै आएको घर नचर्के पनि चौथो तलामा बस्नुपरेका कारण भूकम्पको त्रासमा हुनुहुन्छ ।

“ठूला ठूला भूकम्प आउँदा आफू कोठामा नै भएर होला अझै पनि डर उत्तिकै लाग्ने गरेको छ । तल्ला तलामा भए भूकम्प आउने वित्तिकै खुल्ला ठाँउमा भाग्न सकिने हुँदा त्यसको खोजिमा छु,” (उनले भने ।

भूकम्प आएको मौका छोपेर कोठा खोज्ने क्रममा भाडा पनि साविकभन्दा बढी भन्ने गरेको उनले बताए । यस्ता विपत्तिमा सर्वसाधारण ठग्ने जो कोहीलाई सरकारले कारबाही गर्नुपर्ने उनको तर्क छ ।