सय वर्षीयालाई रिपोर्टस क्लवको जस्तापाता सहयोग

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाली साझा समाज जापान तथा रिपोर्टर्स क्लब नेपालको संयुक्त तत्वावधानमा धादिङका १८६ भूकम्पपीडितलाई जस्तापाता वितरण गरिएको छ ।

यसअघि १९९० सालको भूकम्प भोगिसक्नुभएका १०० वर्षीया स्थानीयवासी पातली कामीलाई पहिलो जस्ता हस्तान्तरणबाट सुरु गरिएको त्यस कार्यक्रममा हरेक परिवारलाई सानो साइजका पाँच थान र ठूलो साइजका तीन थानका दरले ९० बन्डल जस्तापाता वितरण गरिएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धिबहादुर शेरचनले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष ऋषि धमलाले आफूहरूले धादिङको पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो । समाजसेवी शम्भु श्रेष्ठ र राजन भुजेलले वर्षायाममा भूकम्पपीडितलाई बिचल्ली हुन नदिनका लागि पुनःनिर्माणमा सहयोग गर्न सरकारसँग माग गर्नुभयो । यसअघि ज्यामरुङ, मैदी, सांकोष र नीलकण्ठ नगरपालिकाका विभिन्न वडामा ध्वस्त विद्यालयका लागि जस्तापाता उपलब्ध गराइसकिएको छ ।