गोर्खा सैनिकहरुले जोडिदिए दुई गाउँको सम्बन्ध

347 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रोल्पा, असार २ – रोल्पाको सदरमुकाम लिबाङ नगरपालिकासँग जोडिए पनि विकट गाविसका रुपमा चिनिने जेद्वाङ र जौलिपोखरी जोड्ने झोलुङ्गे पुल निर्माणसँगै उद्घाटन गरिएको छ । गोर्खा सैनिकहरुको सिफारिसमा कादुरी भन्ने संस्थाको ५० लाखको आर्थिक सहयोगमा सखीखोला ठाटीबोटको पुल निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि केदुरी संस्थाका गोर्खा वेलफेयर स्किम अन्तर्गत एरिया वेलफेयर बुटवलका अफिसर क्याप्टेन जितबहादुर थापा र स्थानीय वयोबृद्ध भूमे वलीले संयुक्त उद्घाटन गरेका हुन् । गोर्खा ग्रुपमा अध्यक्ष एवम् भूपू क्याप्टेन मानबहादुर बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थानीयवासीले विभिन्न झाँकीसहित सहभागिता जनाएका थिए । सहत्तरी मिटर लम्वाई र एक मिटर चौडाई रहेको उक्त झोलुङ्गे पुल निर्माणपछि दुइ गाविसका करिव ४ वडाका वासिन्दा प्रत्यक्ष लाभान्वित भएको निर्माण समितिका अध्यक्ष कविराम घर्तीले बताए । वर्षाको समयमा खोलाका कारण विद्यार्थीको पढाईनै प्रभावित हुने गरेकामा पुल निर्माण पछि भने उक्त समस्या टरेको घर्तीले बताए । पुल निर्माण निर्माणपछि सबैभन्दा धेरै राहत विद्यार्थीहरुलाई हुने जेद्बाङ मावि रिठाबोटका प्रधानाध्यापक तिलकराम पोख्रेलले बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासिय कामहरु आफूहरुले गर्दै आएको बताउँदै क्याप्टेन जतबहादुर थापाले यस्ता कामबाट सबैभन्दा ठूलो सम्मान नै आत्मसन्तुष्टि पाउने गरेको बताए । ‘समाज सेवा कुराले होइन काम गरेर मात्र हुन्छ’ प्रमुख अतिथि तथा क्याप्टेन थापाले भने ‘यी सामाजिक कार्यमा अगाडि बढ्नको लागि भूपू गोरखा सैनिकका क्याप्टेन मानबहादुर थापाको ठूलो योगदान छ ।’ पुल निर्माण गर्न पहल गरेको भन्दै स्थानीय खड्गबहादुर घर्तीले कादुरी संस्थालाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा संस्थाका म्यानेटर अबोध नारायण माझीले पुल निर्माणका सम्पूर्ण कागजी फाइलसहित पुल उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए । –