बुढीगण्डकीको दुवै किनारमा निरन्तर पहिरो,२० अस्थायी टहरा र चाैपाया बगायो

614 पटक पढिएको

सम्पादक: Dhading News

budhiअसार  – भूकम्पले पहिरोपछि अवरुद्ध बनेको मनासलु पदमार्ग आसपासमा वर्षात सँगै शुक्रबार रातिदेखि फेरि पहिरो खस्न थालेको छ । गुम्दा–५ को खानीबेसी र काशीगाउँको वेशीमा बुढीगण्डकी नदीको आसपास निरन्तर पहिरो खसेको स्थानीयबासीले बताए । पहिरोको कारण बुढीगण्डकी नदी थुनिने र खोलिने भएको खानीबेसीकी बिमाया गुरुङले बताइन । ‘राती १ घण्टा नै नदी थुनियो, पछि आफैं खुल्यो’, उनले भनिन । पहिरोको कारण नदी आसपासका बासिन्दा भागेर डाँडामा बसेको उनले बताइन । इलाका प्रहरी कार्यालय आरुघाटले पनि बुढीगण्डकीको सतह घटबढ हुने गरेको जनाएको छ । प्रहरी निरीक्षक रविन्द्र खनालले नदीमा ४० प्रतिशत पानी बढेको बताए । ‘नदी खुलिसकेको भएपनि पहिरो जाने क्रम रोकिएको छैन’, उनले भने ।

खानीबेशी र काशीगाउँबेशीका घरगोठ पहिरोले बगाएको गुरुङले टेलिफोनमा जानकारी दिइन । ‘भाग्ने ठाउँ पनि छैन, जताततै पहिरो छ’, उनले भनिन, ‘पहिरो छल्दै हिडेका छौं ।’

त्यस्तै केरौंजा–४ मा पहिरोले २० वटा अस्थायी टहरो बगाएको स्थानीय शिक्षक सुन्दरबावु खनालले जानकारी दिए । उनले भने, ‘पहिरो जाने सम्भावना देखेपछि स्थानीयबासी पहिले नै भागेका थिए ।’ भत्केका घरहरुको भग्नावशेषहरु पनि बगाएको उनले जानकारी दिए ।

केरौंजा गाउँमा पहिरो जान थालेपछि स्थानीयबासी १५० वटा अस्थायी टहरो छाडेर सुरक्षित स्थलमा गएको प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले बताए । ‘अहिलेसम्म मानवीय क्षति भएको जानकारी आएको छैन’, उनले भने, ‘ठाउँठाउँमा पहिरो खसिरहेको छ ।’