नाकावन्दीको निहुं पारेर छतमा यात्रु वोक्न निषेध

655 पटक पढिएको

सम्पादक: Dhading News

 

काठमाडौँ, – नाकावन्दीको निहुं पारेर छतमा यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउंदै आईरहेका यातायात व्यवसायीहरुले अव त्यसो गर्न नपाउने भएका छन ।
सडकमा सवारीको सङ्ख्या बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम बढी यात्रु बोक्ने सवारीलाई कारबाही सुरु गरेको छ ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलपछि कारबाही प्रक्रिया सुरु गरिएको महाशाखाले जनाएको छ ।

मोटरसाइकलमा क्षमताभन्दा बढी अर्थात् तीन जनासम्म यात्रु बोकेर हिँड्नेलाई समाएर ऐनमा गरिएको व्यवस्थाअनुसार रु २०० जरिवाना सुरु गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

“मोटरसाइकलमा तीन जनाभन्दा बढी बसी यात्रा गर्नेलाई समातेर कारबाही सुरु गरिएको छ, ऐनमा भएको व्यवस्था बमोजिम १४८ सवारी साधनलाई रु २०० का दरले कारबाही भएको छ, साना सवारी साधनका छतमा बसेर यात्रा गर्न निषेध गरेका छौँ, ठूला सवारी साधनका छतमा बसेर यात्रा गर्नेलाई सम्झाउन थालिएको छ”– उहाँले भन्नुभयो ।

नाका खुकुलो हुँदै गएपछि पेट्रोलियम पदार्थको आयात बढ्न थालेको छ । सडकमा सवारी साधन बढेकाले जोखिमपूर्ण यात्रालाई रोक्न कारबाही प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

“साना सवारीको छत सानो र कमजोर नटले कसिएको हुन्छ, महिनौँ यस्ता सवारीको छतमा बसेर यात्रा गर्दा जोखिम बढ्ने र जुनसुकै स्थानमा दुर्घटनाको सम्भावना देखिएकाले साना सवारीको छतमा बसेर यात्रा गर्नेलाई कारबाही प्रक्रिया सुरु गरिएको हो”–उहाँले भन्नुभयो ।

ऐनमा भएको व्यवस्था उल्लङ्घन गर्ने २०० मोटरसाइकललाई सम्झाएर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । हाल सडकमा ७५ प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । सार्वजनिक सवारीको सङ्ख्या ७० प्रतिशतभन्दा बढ्दै गएपछि ठूला बसको छतमा पनि यात्रु निषेध गरिने भएको छ ।