रश्मी रोदनका मुक्तकहरु

942 पटक पढिएको

१७ असार २०७३, शुक्रबार ०८:०१ सम्पादक: धादिङ न्यूज

रश्मी रोदन  नलाङ-९, धादिङ
रश्मी रोदन
नलाङ-९, धादिङ

म्पत्तिको नाउँमा प्यार दिनेछु।
मैले हेर्ने यो सारा संसार दिनेछु।
तिमी छौ र बाच्नुको मज्जा छ।
लैजाउ मेरो मुटु उपहार दिनेछु।

तिम्रो घमण्डलाई म दास बनाउदैछु।
मेरो यादमा बहने बतास बनाउदैछु।
मनले चाहे यहाँ असम्भव केही छैन।
बदलेर पत्थरलाई कपास बनाउदैछु।

बोली फेरियो उनको वचन फेरियो।
व्यवहारसँगै माया गर्ने मन फेरियो।
प्यारले बोलाउथे मेरि काली भन्दै।
हिजोआज किन सम्बोधन फेरियो।

अचेल आफन्तको पनि भर हुदैन।
बास्ना आउदैमा सबै अत्तर हुदैन।
तेरो र मेरो भनि घमण्ड गर्नु किन?
मरे पछि बस्नलाई स्वयं घर हुदैन।

पोखिन थाले आँसु आँखाबाट चुली भएर।
बाटो बनाउदै बग्छ गालामा त्रीशुली भएर।
आखिर यिनै हुन् म दुख्दाको सारथि पनि।
झुल्की दिन्छन् खुसी केवल बिजुली भएर।

एकथान खुशी दिएर आएँ।
दुइथान आँसु, लिएर आएँ।
आँसु र खुशी साटासाटमा।
मुटु भिज्नेगरि पिएर आएँ।

बिमार पनि भाग्दो रैछ सराब पिएपछी।
मनले के के माग्दो रैछ सराब पिएपछी।
पिए पछि कोदोको रस तिरिमिरी पार्छ।
अरु नै रहर जाग्दो रैछ सराब पिएपछी।

सधैभरी एकनासले हेरिरहुँ लाग्छ।
अह्राएका सबै कुरा टेरिरहुँ लाग्छ।
सपनीमा आएर मन चुल्बुलाउदा।
उनैलाई अंगालोमा बेरिरहुँ लाग्छ।