त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस –बंगला एयरलायन्सको जहाज दुर्घटना

838 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ २८,फागुन -त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो विमान दुर्घटनामा परेको छ। बंगलादेशको युएस –बंगला एयरलायन्सको एक विमान सोमबार दिउँसो दुर्घटनामा परेको हो।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँका लागि उडेको उक्त विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ।सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएकामध्ये ८ जनाको ज्यान गएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको पुष्टि भएको नेउपानले जानकारी दिए।

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ३३ नेपाली सहित ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु सबार रहेको जनाएको छ। विमानस्थलका उद्धार तथा नियन्त्रकहरु द्धारा आगो नियन्त्रण भएको र घाइतेहरुको उपचार भै रहेको विज्ञप्तीमा उल्लेख छ। ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ ।

दुर्घटनापछि विमानमा आगो लागेको र  विमानस्थलमा ठूलो धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।