दुई तिहाइ मतकासाथ राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित
941 पटक पढिएको
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् । वामगठवन्धनको समर्थनमा उम्मेदवार बनेकी भण्डारीले दुईतिहाइ बढी मतभारले विजयी बनेकी हुन् ।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
मंगलवार भएको निर्वाचनमा भण्डारीले ३९२७५ मत पाउदै निर्वाचित भएकी हुन् । उनिसँग प्रतिष्पर्धा गरेकी नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी राईले ११७३० मत ल्याएकी छन् ।
निर्वाचनमा संघीय संसदका पाँचजना सांसद अनुपस्थित :
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् ।
निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएका हुन् ।
यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए । कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु रहेका छन् ।
बिहान १० बजेदेखि शुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो । निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो ।
संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गरिएको थियो ।
संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको थियो । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था गरिएको हो ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् । यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाएनन् ।