अपहरणमा सङ्लग्न पाँच जनालाई हिरासतमा राख्न आदेश

649 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/मैदी गाविस-१ उखुबारीका क्रा लामा तामाङ्गलाई कुटपिट गरी अपहरण गरेको आरोपमा गिरफ्तार परेका पाँच जनालाई जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न असार १८ गते प्रहरीलाई अनुमति दिएको छ ।

अपहरणमा सङ्लग्न भएको अभियोगमा दार्खा गाविस-५ का करण तामाङ, सोही गाविस-५ का कुन्दन गुरूङ, सत्यदेवी गाविस-२ का जेनिस तामाङ, झार्लाङ गाविस-२ घरभई मुरलीभञ्ज्याङ गाविस-२ ससाहका धनबहादुर तामाङ, सिन्धुली जिल्ला दुम्जा गाविस-६ घरभई काठमाडौँ मनपा-१६ बालाजुका भरत लामालाई असार १५ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान अघि बढाएको थियो । घटनामा सङ्लग्न भएका आरोपित मैदी गाविस-१ का जिवन तामाङ भने फरार रहेका छन् ।

आरोपितहरूले क्रा लामालाई असार १४ गते बेलुका कुटपिटपछि अपहरण गर्न लाग्दा घाइते भएका थिए । रातिनै आरोपितहरू नजिकै एउटा गोठमा कुखुराको मासु पकाएर खाँदै गरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

आरोपितहरूले  पीडितलाई ९ लाख रूपियाँ मागेको र दिन नसकेपछि निर्घात कुटपिट गरेका थिए । उनको निधार, टाउको र अन्य भागमा चोट लागेको छ ।

आरोपितहरूलाई अपहरण तथा ज्यानमार्ने उद्योग ऐन अनुसार कारबाही गरिने डीएसपी अशोक सिंहले बताए ।

काठमाडौँका नागेन्द्र क्षेत्रीले क्रा लामासँग ९ लाख रूपियाँ असुली गर्नुपर्ने र सो रकम असुली गरी आधा रकम ४ लाख ५० हजार रूपियाँ कमिशन दिने गरी पाँच जनालाई अपहरण गर्न पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

सीताराम अधिकारी