पुर्नःबहालीका लागि तीन दशक धाएका शिक्षकका व्यथा
830 पटक पढिएको
प्रकाश सिलवाल।
काठमाडौँ, १५ साउन। स्थायी शिक्षक भएको केही वर्षपछि तत्कालीन पञ्चायत सरकारको ‘पूर्वाग्रह’ का कारण सेवामुक्त भई पछि अस्थायी सेवामा कार्यरत शिक्षक आफ्नो स्थायी पदको पुनःबहालीका लागि दुई दशकदेखि शिक्षा मन्त्रालयमा धाइरहेका छन्, तर अझै त्यो क्रम टुङ्गिएको छैन। धादिङको नलाङ माध्यमिक विद्यालयका शिक्षक टङ्कनाथ शर्मा तिमिल्सिना एक यस्तै उदाहरण बनेका छन्, जो हालसम्मका प्रायः सबै शिक्षामन्त्रीलाई आफ्नो समस्या सुनाएको अनुभवका कागजपत्र बोकेर लखतरान भएका छन्। प्रजातन्त्र र लोकतन्त्रपछिका सबैजसो शिक्षामन्त्रीलाई भेटेर ज्ञापनपत्र दिँदै ‘काम हुन्छ’ भन्ने आश्वासन लिएर फर्के पनि हालसम्म काम नभएकाले तिमल्सिना अब भने आफू थकित भएको गुनासो गर्नुहुन्छ।
आगामी २०७१ वैशाख १५ मा उमेरका कारण जागिरबाटै अनिवार्य अवकाश पाउने अवस्था भएपछि तिमल्सिना आफ्नो स्थायी सेवा एकाएक खोसिएका कारणबाट निवृत्तिभरण (पेन्सन)बिना नै खाली हात घर जानुपर्ने थप पीडामा पर्नुभएको छ। पहिलोपटक २०३२ फागुन १७ गते प्राथमिक शिक्षकमा स्थायी नियुक्ति लिनुभएका तिमल्सिना २०३५ साल पुस ११ मा निम्न माध्यमिक शिक्षकमा बढुवा हुनुभएको थियो। नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको स्थापनाकाल २०३६ देखि निरन्तर त्यसको सदस्य रहेका कारण तत्कालीन पञ्चायती सरकारद्वारा राजनीतिक पूर्वाग्रह राखी अन्य सक्रिय शिक्षक कार्यकर्तालाई जस्तै आफूमाथि पनि विविध यातनासहित सेवाबाट मुक्त गरिएको भन्ने उहाँको गुनासो छ।
हेटौंडाको भुटनदेवी माविमा सो सङ्गठनको प्रथम सम्मेलनका लागि २०३६ साल मङ्सिरमा भएको कार्यक्रममा भाग नलिन जिल्ला शिक्षा कार्यालयले चेतावनीपत्र दिए पनि उहाँले त्यसलाई अवज्ञा गरेका कारण २०४२ चैत २६ मा सेवामुक्त हुनुपरेको थियो। त्यसअघि उहाँलाई कहिले प्रहरी हिरासत त कहिले सरुवाका यातना दिइएको थियो। त्यसबीचमा उहँको पाँच वर्ष आन्दोलन गरेरै बित्यो भने २०४८ साल भदौ ५ देखि नलाङ माध्यमिक विद्यालयमा अस्थायी सामाजिक शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ।
(हाम्रा कुरा डट कम बाट)