डल्लाकोटी अर्थात् सबैका मामा

1038 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • सीताराम अधिकारी

लोकनाथ डल्लाकोटीलाई  म पत्रकार भएको नाताले चिनेको हो । म पत्रकारिताको एक विद्यार्थी भएको नाताले उहाँसंग चिनजान भयो । म धादिङको दक्षिणी क्षेत्रमा बसेर समाचार रिर्पाेटिङ गर्ने गर्थेँ । लोकनाथ डल्लाकोटी पत्रकार मैत्री भएको नाताले आफ्नो मिडिया हाउसमा समाचार पठाउने समय हाम्रो लागि महत्वपूर्ण थियो । पत्रकारको दैनिकीलाई नजिकबाट नियाल्नु भएकोले उहाँ पत्रकारलाई धेरै माया गर्नुहुनथ्यो । सूचना तथा प्रविधिलाई भरपुर उपयोग गर्नुपर्छ भन्ने उहाँको सोचाई थियो । जस्का कारण उहाँले हामीलाई समाचार सम्प्रेषण गर्ने ब्यवस्था मिलाएर सहयोग गर्नुभएको थियो ।

राजमार्ग क्षेत्रको बजार क्षेत्रमा रहेका एक दुई लाइन टेलिफोन नयाँ नेपाल निर्माणका लागि बम बारुद र आगजनीको शिकार हुन पुग्यो । सिंगो दक्षिणी भेगमा सर्वसाधरणको पहुँचमा फोन थिएन । २०५९ सालतिर हामी केशव अधिकारी, राजेन्द्रप्रताप शाह, सीता अधिकारी, नातीबाबु भट्ट, गोकर्ण अधिकारी र म पत्रकारीतामा दिनदिनै समाचार लेख्ने र आफ्नो मिडियामा पठाउने पत्रकार थियौँ । यस बाहेक सीतारामप्रसाद बर्मा आफ्नै घरमा फ्याक्स मेसिन राखेर समाचार पठाउने गर्नुहुन्थ्यो । हामीले वजारमा पालो कुरेर फ्याक्स मार्फत समाचार पठाउने गर्नु पर्दथ्यो । इमेल इन्टरनेटको वारेमा सुनेका थियौं, हाम्रो पहुँचमा आईपुगेको थिएन त्यो बेला ।

त्यतिखेर सबै टेलिफोन टावर भत्किएका कारण सदररमुकाममा सम्पर्क गर्ने सुरक्षा निकायसंग फोन थियो बाहिर भएको फोन ५२०१८५ नम्बरको फोन बिचबजारमा थियो । धादिङवेसी बिचवजारमा कलरल्याबको शुरुवात डल्लाकोटीले गर्नु भएको हो । कलर ल्यावमा उहाँका भान्जा पनि हुनुहुन्थ्यो । भान्जाले आफ्नो मामालाई सम्वोधन गर्दा गर्दै त्यहाँ वरपरका धेरैले डल्लाकोटीलाई मामा भनेर सम्वोधन गर्न गर्न थालेका हुन । मामा भनेर बोलाउने कतिपयलाई त उहाँको खास नाम लोकनाथ हो भन्ने याद छैन होला । धादिङ कलर ल्याबले डल्लाकोटीलाई बजारमा सबैको मामा बनाएको थियो ।

एउटा मिलनसार, नयाँ पेशामा हात हालेर जोखिम लिनु पर्छ व्यवसायका लागि भन्ने उदाहरण आफैँबाट दिनसक्ने डल्लाकोटीलाई मैले समाचार पठाउने क्रममा भेटेको थिएँ ।

दिउँसो तीनबजेपछि टेलिफोन गर्नेहरुलाई कुराएर पत्रकारहरुलाई समाचार पठाउने समय दिने व्यवस्था गर्नु भएको थियो । जेठ महिनाको समयमा म समाचार पठाउन लागि गएँ । पत्रकार आउनुभयो । समाचार पठाउन दिउँ पहिला भोली समाचार पढ्नु पर्छ । लोकनाथ डल्लाकोटीले यति भनेर मलाई प्राथमिकता दिनुभयो । संगै केशव जी र राजेन्द्र जी पनि हुनुहुन्थ्यो । हामीले समाचार पठायौँ । सस्तोमा समाचार पठाउन सकिने ठाउँ भएकोले हामी त्यतै जान्थ्यौँ । समाचार पठाएपछि फोन गर्ने ग्राहकहरुको पालो आउँथ्यो । पत्रकारहरुसंग बसेर चिया खाउँ भन्ने र दुध चिया खुवाउने उहाँको नियमितता थियो । मैले पनि उहाँसँग बसेर धेरै पटक चिया पिएको छु ।

म त्यतिखेर आजको समाचारपत्रमा काम गर्ने गर्थैँ । समाचार पढेको तर मानिस नचिनेको बताउनु हुने मामाले चिनजानपछि हामीलाई धेरै तरहले सहयोग गर्ने गर्नुभएको थियो । धादिङमा पहिलो कलरल्याब ल्याउने व्यवसायिहरुका नेता डल्लाकोटी व्यवसायलाई समयानुकुल बनाउँदै लानु पर्छ भन्ने दृढ धारण थियो ।

नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य, धादिङ उद्योग बाणिज्य संघका महासचिव, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य र नेकपा एमालेका जुझारु कार्यकर्ता डल्लाकोटीको ०७८ असार १३ गते बिहान मृत्यु भएको छ । मनमोहन अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । सुगरका विरामी भएका कारण शनिवार विहान स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

धादिङ जिल्लामा पहिलो महोत्सब गर्दादेखि मलेखु, गजुरीमा स्थानीय तहले गर्ने महोत्सब समेतमा उहाँको योगदान र लगानी रहेको छ ।

हामी सबैका मामा डल्लाकोटीकालाई बजारमा केही मानिसले छिटो रिसाउने वा आफ्नो सुर नछाड्ने आदी आरोप लागे पनि नयाँ पुस्ताका लागि नयाँ कुरामा लाग्न सिकाउने सफल ब्यवसायिको निधनले अपूरणिय क्षति पुर्याएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनी, भूमि त्रिपाठी, धादिङ उद्योग वाणिज्य संघ लगायतले डल्लाकोटी मामाको निधनले जिल्लाको उद्योग वाणिज्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् । एउटा पत्रकारको सहयोगी गुमाउँदा हामी पनि दुखित छोँ । डल्लाकोटी मामा प्रति हार्दिक श्रदाञ्जली र परिवार जनमा समवेदना व्यक्त गर्दछु ।