एमालेले तोक्यो प्रदेश कमिटी अधिवेशनको मिति

302 पटक पढिएको

११ श्रावण २०८०, बिहीबार १७:०० सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ। गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन्।

कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए।

उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ। उनले गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने बताए।

पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ। सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। पार्टीले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्ने उनले बताए। उनका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी भइरहेको छ।