नयाँ आविष्कारको खोजीमा कविता

877 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Ramesh_Kshitij

ओशोले एकपल्ट भनेका थिए मलाई दार्शनिक नभन्नू । मलाई सम्झँदा सधैं कविका रूपमा सम्भिmयोस् । जीवनलाई हेर्ने मेरो दृष्टिकोण काव्यात्मक छ । एउटा महान् दार्शनिकका लागि के आकर्षण छ त्यस्तो कवितामा ? कविताको भूमिका के छ मानिसको जीवनमा ? किन प्रत्येक मानिसले जीवनमा कहिल्यै न कहिल्यै कविता लेखेको हुन्छ ?

कविता मानिसले आविष्कार गरेको सबैभन्दा प्राञ्जल भाषा हो । सामान्य घटना र प्रसङ्गहरू पनि सुन्दर कवितामार्फत् अभिव्यक्त भए भने ती विशेष लाग्छन् । साधारण कुरा पनि असाधारण लाग्दछ- जब कविताले आफ्नो भाषामा बोल्छ । सामाजिक विकास र परिवर्तनका लागि यसैले कविता युगौंदेखि लेखिएको छ र पढिएको छ । कविताले मानिसको अन्तःस्करणमा छुन्छ यसैले मानिसको मानस परिवर्तनका लागि वा जीवन रूपान्तरणका लागि कविताको असिम उपयोग आवश्यक छ । कविताले मानिसलाई आत्मवल, आशा विश्वास, नैतिक मूल्य र आदर्श प्रदान गर्दछ ।

कविताले नयाँ सभ्यता निर्माणका लागि योगदान गर्दछ । राजनीतिक, सामाजिक परिवर्तन र चेतना विस्तारका लागि कविताको महत्त्व सर्वकालिक रहेको पाइन्छ ।

पूर्वीय धर्म र दर्शनका प्राचीन ग्रन्थहरू काव्यात्मक छन् । कविताको परिभाषा र सिद्धान्तहरू पछि विकसित भए होलान् तर कविता कविताको रूपमा व्याख्या गरिनुअघि नै मानवीय संवेदनाको हार्दिक भाषा थियो भनेर बुझ्न सकिन्छ । एक्काइसौं शताब्दीमा कविताको मूल्य र महत्त्व झन् बढिरहेको छ । सञ्चार र प्रविधिको विकाससँगसँगै मानिसको जीवन पद्धति फेरिएको छ । मेसिनमाथिको निर्भरता बढ्दै गएको छ । मानिसको नजिकको साथी अब प्रविधि, कम्प्युटर वा खेलौनाहरू भइरहेका छन् । सबै भौतिक सुविधाले मानिसलाई सुविधा त प्रदान गरिरहेको छ । तर मानिसभित्रको संवेदना, एक अर्कालाई बुझ्ने र सहयोग गर्ने, प्रकृतिसँग रमाउने बानी कम हुँदै गएको छ । मानिस भीडमा पनि एक्लिँदै गएको अवस्थामा मानसिक समस्या र एकांकीपन र आत्मीय दुर्बलताहरू बढिरहेका छन् । सुविधालाई नै खुसी मानिदिने भ्रमपूर्ण अवधारणाले विभिन्न सामाजिक, आर्थिक र मानसिक जटिलताहरू थपिएका छन् ।

एकपल्ट सन् २००७ मा जर्मनी जाँदा एक भद्र नेपाली दम्पतीले खाना खान आफ्नो निवासमा बोलाए । विदेशमा बस्ने एक देशबाट अर्को देश उडिरहने ती दम्पतीको स-सानो छोरा रहेछ । उसको रुचि रहेछ चित्र कोर्ने । सानो उमेरको उसले धेरै चित्रहरू बनाएको रहेछ तर अचम्म के थियो भने सम्पूर्ण चित्रहरू जहाज वा विमानस्थलको चित्र मात्र । मैले ती दम्पतीलाई सोधें, यसको कारण उनीहरूले भने, ‘उसले धेरै देखेको जहाज र एयरपोर्ट नै हो किनभने हामी प्रायः यो देशबाट अर्को अर्को

देश यात्रा गरिरहेका हुन्छौं ।’

यसरी नै कविले बिताएको बाल्यकाल, उसको अध्ययन, भ्रमण, वैचारिक पृष्ठभूमि आदि यावत् कुराले विम्वविधान, शैली र कविता लेखनको प्रक्रियालाई प्रभाव पारेको हुन्छ ।

हाम्रा विम्बहरू बढी प्राकृतिक छन् । किनकि बाल्यकाल प्रकृतिको नजिक भएर बितेको छ । हामीले खेल्ने खेलहरू रूखसँग, नदीसँग, ताल तलैयासँग, वस्तुभाउसँग अन्तरसम्बन्धित हुन्थे । सूर्य उदाएको अस्ताएको, चन्द्रमा टहटह चम्किरहेको हेर्दै हुर्केकाले होला त्यो प्राकृतिक अवस्था र चित्र हाम्रा कविताहरूमा आउँछन् । यसरी लेखन प्रक्रिया भनेको नै जीवन बाँच्ने प्रक्रिया हो । कविले जुन किसिमको जीवन बाँच्दछ त्यो बाँच्नु एक प्रकारको कविता लेखनकै अंग हो । धेरै रक्सी पिउनेहरूले त्यसकै विम्ब प्रयोग गरेको पाइन्छ ।

कवितामा विचार वा कला कसलाई बढी महत्त्व दिने प्रश्न पनि उठिरहन्छ । कुरा यही संसारबाट लिइएका हुन्छन् तर प्रस्तुतिले त्यसलाई फरक र आकर्षक बनाउने हो । कविता लेख्न कला चाहिने भएकाले चोरेर वा नक्कल गरेर लेख्न कठिन हुन्छ । विदेशतिर धेरै अघि नै ‘घोस्ट राइटिङ’ प्रचलित थियो, अचेल नेपालमा छ । अरू विधामा अरूलाई लेखाउन सकिए पनि कवितामा पैसा खर्चेर अब्बल कवि बन्न सक्ने सम्भावना अत्यन्त कम हुन्छ । कलाका साथै विचार पक्ष पनि कविताको अर्को महत्त्वपूर्ण पाटो हो । तर विचारको नाममा कवितालाई निबन्ध, कथा वा संस्मरणको रूपमा स्विकार्न सकिँदैन । अथवा पार्टीका घोषणापत्रलाई बल पुग्ने गरी लेखिएका कविताहरूमा मात्र विचार छ भन्ने विश्वास राखिनु सर्वथा अनुपयुक्त हुन्छ ।

कवितामा सरलता र दुरूहता

कविता अन्ततोगत्वा पाठकका लागि लेखिने हुँदा यसको सम्प्रेषणीयता वा अरूलाई स्पर्श गर्ने क्षमता हुन जरुरी हुन्छ  । कवितामा समसामयिकता वा शाश्वतताको प्रश्न पनि उठ्ने गरेको पाइन्छ । कविता कस्तो हुनुपर्छ त्यो बहसको विषय हुन सक्छ तर कवितामा के लेख्ने भन्ने कुरा कविको स्वतन्त्रताको कुरा हो । कविता कुन उद्देश्यको लागि लेखिएको छ यो नै एक अहं प्रश्न हो ।

‘स्वान्त सुखास’ भनेर लेख्नेहरूका लागि पनि कविता पाठकसमक्ष पुगोस् भन्ने चाहना नै हुन्छ भने समाजका लागि लेख्नेले पनि कविता लेखेर आत्मसन्तुष्टि प्राप्त गरेका हुन्छन् नै । मानवीय प्रेम, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विचारहरू सर्वव्यापी र सर्वकालिक हुन्छन् । यिनको महत्त्व युगौंयुग रहिरहन्छ तर कुनै राजनीतिक व्यवस्था, प्रणाली र सामाजिक चासोका विषय परिवर्तनीय हुन्छन् । कुनै वेला चिठी र आवाको विषयका कविता अहिले इमेल र नेटले विस्थापित गरेका उदाहरण छन् । यस्ता कवितामा दुवैको संयोजन जरुरी हुन्छ । नेपालले भोगेका युद्धका कविताले यस बेलाको इतिहासलाई लेखबद्ध गर्न महत्त्वको पाठ सिकाउन सक्दछन् । संघीयता आजको कविताको चासो हुन सक्छ भने राष्ट्रियता र सम्मिलन भोलिको ।

नेपाली कविताको अवस्था

धार्मिक ग्रन्थ, श्रुति परम्परा, मन्त्र र संास्कृतिक अभ्यासहरू काव्यिक भएको तथ्यलाई हुर्ने हो भने कविता हाम्रा लागि नयाँ होइन । तर कविताका सिद्धान्त, दर्शन र बहसहरू पर्याप्त नभएकाले हाम्रो समालोचना पद्धति भने पश्चिमी सिद्धान्तलाई ग्रहण गर्नुपर्ने बाध्यतामा छ । यसैले पनि हो पाठकहरूको सीमितता रहेको र नेपाली कवितालाई विश्लेषण गर्ने सन्दर्भमा ‘विश्वविद्यालय’ कविताको ‘सर्वोच्च अदालतको’ भूमिकामा रहिरह्यो । कुन कविता पाठ्यक्रममा पर्‍यो कसको बारेमा समालोचना वा शोधपत्र लेखियो भन्नेजस्ता गौण विषयले प्राथमिकता पाइरहे ।

नेपाली कविता हालसम्म दुईवटा धारलाई समाएर अगाडि बढेको पाइन्छ । एउटा- कवितालाई क्लिष्ट अमूर्त र बौद्धिक विलासिताको पक्ष बनाउने धार । अर्को- कवितालाई लोकपि्रय बनाउने नाममा अतिव सरल, कलापक्षको अभाव र काव्यिक सौन्दर्यविहीन लेखनी भएको धार । कवितालाई काव्यिक मर्यादा दिन अमूर्त र क्लिष्ट कविताको योगदान रहेझंै कवितालाई जनमानसमा लैजान र लोकपि्रय बनाउन सरल कविताको योगदान छ । तर वर्तमानमा ती दुवै धारका सकारात्मक पक्षलाई समेट्दै मौलिक कविताको सिर्जना हुनु आवश्यक छ ।

कविता साहित्यको आधार भूमि हुँदाहुँदै पनि कवितालाई यथेष्ट महत्त्व दिइएको पाइँदैन । सम्पादकहरूको गुनासो हुन्छ एउटा कविता छापिनासाथ सयांै कविता आउँछन् कुन छाप्ने कुन नछाप्ने ? तर राम्रा कविताहरू पढ्ने संयोग नै जुर्नुपर्ने तथ्यलाई हामी नकार्न सक्दैनांै । उपन्यास, कथा र संस्मरणले बजार पिटिरहेको बेला के अर्थोपार्जनलाई मात्र मापक बनाउनु जरुरी छ ? कविता कम लेखियो वा पढियो भने साहित्यका अन्य विधाहरू फस्टाउँदै जालान् ? आदि इत्यादि प्रश्नहरूको निष्कर्ष खोजिनुपर्ने बेला भएको छ ।

नेपाल विविधताले भरिएको मुलुक हो । हाम्रा जातीय सांस्कृतिक, धार्मिक विम्ब र विषयवस्तु निहित कविता हाम्रा मौलिक कविता हुन् । माक्र्सवादी, पुँजीवादी, विम्बवादी वा वैचारिक कविताको नाम दिनु अब असान्दर्भिक अनुभूति हुने बेला भइसकेको छ । राजनीतिक रूपमा नै समाजवादी मुलुकमा पुँजीवादी अर्थतन्त्रका गुण र पुँजीवादी भनिने मुलुकमा सामाजिक सुरक्षा र समाजवादका स्वरूप ग्रहण गरिन थालेपछि कुनै कविलाई निक्खर माक्र्सवादी भइरहनु चुनौतीपूर्ण भएको छ ।

समाजको गतिशीलतासँगै उसको एक अंग साहित्य पनि रूपान्तरण हुने भएकाले विश्वव्यापीकरणको सन्दर्भमा प्रेम, सद्भाव, राष्ट्रियता र एकताका साथ नेपाली कविताले अब एक नयाँ आविष्कार पहिचान र नवीन स्पर्शको माग गरिरहेको छ । यसका लागि नेपाली कवितालाई फेरि एकपल्ट नयाँ ढंगले बहस र विश्लेषण गर्नु आवश्यक देखिन्छ ।

(कान्तिपुर अनलाइन बाट )