फिफा महिला विश्वकप : उपाधिका लागि इङ्ल्यान्ड र स्पेन भिड्ने

165 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ ।

यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

बुधबार सिड्नीस्थित एलिएन्ज रंगशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

खेलको ३६औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् ।

७१औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो । खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल गर्दै इङ्ल्यान्डको ३–१ को जित निश्चित गरिन् ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।