महिला टी–ट्वेन्टी क्रिकेट : आयोजक टोली मलेसियासँग नेपाल ६ विकेटले पराजित
170 पटक पढिएको
काठमाडौं । मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपाल आयोजक टोली मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि ८५ रनको लक्ष्य पाएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालले पहिलो दुई खेलमा हङकङलाई ६ विकेटले र कुवेतलाई ३४ रनले पराजित गरेको थियो । तर मलेसियासँग नेपाल पराजित हुन पुग्यो ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाका कारण १८ ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाई ८३ रन बनाएको थियो ।डकवर्थ लुइस पद्दतिका आधारमा मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी थिइन् । यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौकासहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए । त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् । मलेसियासँगको हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको छ । नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ । नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो ।