धादिङ खाल्टेका ठाकुर प्रसाद ढुंगानाको एनआरएन केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी घोषणा
497 पटक पढिएको
धादिङ न्यूज
६ असोज,२०८० ।
धादिङ- गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
धादिङको नीलकण्ठ नपा.५ खाल्टे घर भई हाल युएईको अवुधावीमा व्यवसाय गरिरहेका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । व्यवसाय संगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवी बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि बिषयमा गहिरो ज्ञान राख्दछन् ।
सन् २०१७-१९ र १९-२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगाना ले धादिङ न्यूजलाई बताए ।
आईसिसिको अनुरोधमा २०२१-२३ मा विश्वकै ढोकाको रूपमा रहेको एनआरएनए एनसीसी युएईको कार्यसमितिलाई मिलाउन समेत उनी सफल भए । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएका थिए । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आफुँ सफल भएको ढुंगाानाको भनाई छ ।
मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।
नेपालको आर्थिक ऊन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका डेलिगेटहरूसामु यो सन्देशलाई पुराईदिन तथा यस निर्वाचनमा आफूलाई जिताउन उनले सबै सदस्यहरुलाई अनुरोध पत्रसमेत पठाएका छन् ।